काठमाडौैं, २८ साउन । हत्या अभियोग लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले अदालतमा आत्मसमर्पण गरेका छन् ।
सामाजिक विकास राज्यमन्त्री शर्माले सोमबार बिहान महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् ।
२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो । घाइते भएका विकलाई प्रहरी भ्यानबाटै थुतेर हत्या गरिएको थियो । सो हत्यामा शर्माको संलग्नता रहेको भन्दै अदालतमा किटानी जारी परेको थियो ।
शर्माले आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन् । उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको निवेदनमा उल्लेख गरेका छन् ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरी उच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा २ नम्बर प्रदेशले उनलाई राज्यमन्त्रीमा सपथ गराएको थियो । हत्या आरोप लागेकै बेला शर्माले गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा चुनाव जितेर सांसदको सपथ लिएका थिए ।
तर, हत्या आरोपीलाई राज्यमन्त्रीको सपथलगत्तै उच्च अदालत धनुषाले उनलाई अदालत उपस्थित हुन नत्र पक्राउ गर्न प्रहरीको नाममा आदेश जारी गरेको थियो । शर्मालाई राज्यमन्त्री बनाएको विषयमा पार्टी र गठबन्धन दल संघीय समाजवादी फोरमले असन्तुष्टि जनाएको थियो ।
शर्मा राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभा सदस्य बनेका हुन् । उनीमाथि लागेको हत्या आरोपका सम्बन्धमा छलफल गर्न राजपा नेतृत्वले प्रधानमन्त्री केपी ओलीलाई पटक–पटक भेट्न आग्रह गरेको थियो । राजपा अध्यक्षकमण्डलको सो प्रयास आइतबार बेलुका सफल भए पनि प्रधानमन्त्री ओलीले कुनै जवाफ नदिएको बुझिएको छ ।
राजपाबाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी कैलालीको टीकापुर हत्याकाण्डमा अझै जेलमै छन् । उनले अहिलेसम्म सांसदको सपथसमेत लिन पाएका छैनन् ।










