(पार्थ मण्डल) झापा । नेपाली नक्कली नोट भित्राउने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । भारतको विभिन्न स्थानबाट नेपाली नक्कली नोट बनाएर नेपाल भित्राउने लागेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि यस्तो गिरोह सक्रिय बन्न थालेको पाइएको हो ।
नक्कली नोटसहित पक्राउ पर्नेमा भारत पश्चिम बंगला राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० बर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ बर्षीय हितेस अग्रवाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट मंगलबार बेलुका पक्राउ गरेको हो ।
पक्राउ परेका सतिसको साथबाट एक हजार दरको ३३ थान र हितेसको साथबाट १७ थान गरी नेपाली ५० हजार रुपैयाँ नक्कली नोट फेला परेको उनले बताए । यता पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।
नक्कली नोट भित्राउने गिरोहको बिषयमा जिज्ञासा राख्दा प्रहरी नायव उपरीक्षक बस्नेतले भने, ‘नेपाली नक्कली नोट भित्राउने गिरोह झापामा सक्रिय हुनुपर्छ, त्यही भएर नै नक्कली नोट फेला परेको हो ।’ नक्कली नोटको कारोबार नेपालमा कहाँ गरिन्छ र कहाँबाट ल्याइएको हो, यस बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनको भनाई छ ।










