प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले अब समृद्धिको नयाँ उडान भर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओखलढुंगासहित विभिन्न जिल्लाका कांग्रेस नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउदै उहाले सरकारले अब सुशासन, विकास, समृद्ध नेपाल सुखी नेपालीतर्फको उडान भर्ने बताउनु भएको हो ।
‘मौरीसँग उड्यो भने फूलवारीमा पुगिन्छ, झिंगासँग उड्यो भने फोहोरमा पुगिन्छ, त्यसैले साथीहरु मौरीसँग उड्न आउनु भएको छ, अबश्य फुलबारीमा पुग्नुहुनेछ’ उहाको भनाई थियो । प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने पनि बताउनु भयो । ʻसाथीहरूको प्रवेशले पार्टी अझ गतिशील भएको छ । नेकपामा आएका साथीहरूको अनुहारमा हेरे देश बनाउने संकल्प छ । गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,ʼ प्रधानमन्त्री ओलीले भन्नुभयो, ʻयहाँहरूको विश्वास तलमाथि पर्दैन ।ʼ
उहाले गणेशमान र कृष्णप्रसाद भट्टराईले समेत कांग्रेस छाड्नु परेको भन्दै नेकपा प्रवेश गरेका कार्यकर्ताले पछुताउनु नपर्ने बताए । ʻआज नेपाल नयाँ उद्देश्य, नयाँ अठोट र आत्मविश्वासका साथ अगाडि बढ्दैछ । सरकारले जनताका कामना र चाहानालाई व्यवहारमा उतार्दैछ,ʼ उहाले अगाडी भन्नुभयो, ʻअब नेकपाबाहेक अन्त त पहिरै जान्छ ।’
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब सरकारले बोल्ने भन्दा काम गरेर देखाउने बताउनु भयो । सरकारले गतिलिन शुरु गरिसकेको छ, अब बोलेर होइन काम गरेर सबैलाई देखाइने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिइने समेत बताउनु भयो । कार्यक्रममा कांग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, साविकको खिजी चण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्ता नेकपा प्रवेश गर्नुभएको थियो ।










