प्रदेश २ को सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा प्रस्थान गरेका छन्।
नेकपा अध्यक्षसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै शनिबार बिहान काठमाडौंबाट हेलिकप्टमार्फत् धनुषा प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीले बिहान ११ बजेतिर प्रदेश २ को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपालखबरलाई जानकारी दिए।
प्रदेशसभालाई सम्बोधनका साथै धनुषाको वरमझियामा आजै आयोजना हुने सहिद रामवृक्ष यादवको २४ औं स्मृति दिवसलाई पनि प्रधानमन्त्री ओली एवं अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार अर्यालले नेपालखबरलाई बताए।
मुलुकका सातवटै प्रदेशसभालाई सम्बोधन गर्ने योजनाअनुसार प्रधानमन्त्रीले ओलीले आज प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन्। यसअघि उनले विभिन्न प्रदेश सभामा सम्बोधन गरिसकेका छन्।
गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आएका बेला जनकपुरमा केही घण्टा बिताएबाहेक ओली चार वर्षयता राजनीतिक वा सरकारी कामका लागि तराई जानुभएको थिएन।
प्रधानमन्त्री ओलीले प्रदेश २ मा गर्ने सम्बोधनलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री ओलीको सम्मानमा प्रदेश २ सरकारले मिथिला भोजन कार्यक्रम आयोजना गरेको बताइएको छ।
प्रधानमन्त्री ओलीसँगै संघीय सरकारका उप-प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव प्रदेश २ को प्रदेश सभामा सहभागि हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।










