काठमाडौं । सरकारले मौलिक हकसँग सम्बन्धित ३ वटा विधेयक संघीय संसदमा पेश गर्ने भएको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मौलिक हकसँग सम्बन्धित वैयक्तिक गोपनियताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र भूमिसम्बन्धी ७ औँ संशोधन विधेयक २०७५ संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । बैठकले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई भदौ २४ गतेदेखि लागु हुने गरी नेपाली सेनाको महारथी पदमा बढुवा गरी प्रधानसेनापति पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
त्यसैगरी विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम करिब १ अर्ब ६४ करोड १५ मिलियन डलर स्वीकार गर्ने निर्णय पनि भएको छ । डाक्टर डिल्लीराज खनालको अध्यक्षतामा ५ सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने निर्णय गरिएको छ । बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपालका तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा ऊर्जा जलस्रोत तथा सिञ्चाइँ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, पुनर्बास तथा व्यवस्था पुनस्र्थापना कार्यकारी निर्देशक पदमा सिञ्चाइँ तथा जलस्रोत विभागका उपमहानिर्देशक चूर्णबहादुर ओली, प्राविधिक कार्यकारी निर्देशकमा विद्युत् विकास विभागका नरेन्द्रसिंह भण्डारीलाई काजमा खटाउनुका साथै प्राधिकरणको कार्यकारी निर्देशकमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई बढीमा २०७६ असार मसान्त सम्मका लागि काजमा खटाउने निर्णय गरेको छ ।
बैठकले बिमस्टेकमा हुने पावर ग्रिडसम्बन्धी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्रीलाई दिएको छ । अस्थायी तथा सेवा करार सम्झौताअनुसारका जनशक्ति व्यवस्थापन गर्ने निर्णय गर्दै सम्पूर्ण जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको छ । जनता समाचार बाट










