विष्णुप्रसाद पोखरेल दमक । झापा दमक नगरपालिकाका सामुदायिक तथा नीजि बिद्यालयहरु बिगत ६ महिनाअघि देखि ‘बिद्यालय ब्यवस्थापन समिति’ बिहिन भएकाछन् । सामुदायिक बिद्यालयहरुमा आवश्यक शिक्षक नियुक्तिदेखि लिएर बिद्यालय सञ्चालनार्थ महत्वपुर्ण मानिने ब्यवस्थापन समिति नहुदा दैनिक कामकाजमा नै समस्या हुन थालेको बताइन्छ ।
नगरपालिकाले ६ महिना अघि जारी गरेको ‘दमक नगरपालिका शिक्षा नियमवली २०७४’ मा यो जारी भएको बखत देखि नै स्वत कायम रहेका बिद्यालय ब्यवस्थापन समिति खारेज हुने भनिएकाले त्यो समयदेखि नै बिद्यालयहरु ब्यवस्थापन समिति बिहिन रहेकाहुन् । नेपाली काँग्रेस सहित नगर कार्यपालिकामा प्रतिनिधित्व नरहेका राजनीतिक दलहरुले यसको तिब्र बिरोध गरेपछि यो लागु हुन सकेको छैन ।
नगर कार्यपालिकाका सदस्यहरुले समेत यसभित्र रहेका केहि बुदाहरु शंशोधन गर्नका लागि बाञ्छनिय रहेको भन्दै आवाज उठाएपछि असारको दोश्रो साता भएको तेश्रो नगरसभाले कार्यन्वयन नभएको अवस्थामा नै पहिलो पटक शंशोधन गरेको थियो । दमक नगर शिक्षा अधिकारी शालिकराम काफ्लेका अनुसार दमक नगरपालिका शिक्षा (पहिलो संशोधन) नियमवली २०७५ लागु भइसकेको अवस्था हो । शंशोधन सहितको नियमवली लागु भइसकेको छ र यसको पालना सबैले गर्नुपर्दछ, काफ्लेले भन्नुभयो ।
शंशोधन सहितको दमक नगरपालिका शिक्षा पहिलो (संशोधन) नियमवली साउन १ गते पुनः राजपत्र प्रकाशित भइसकेको भन्दै यसको आधारमा नै नगरपालिकाले बिद्यालय ब्यवस्थापन समिति गठनको काम शुरु गरेको पनि काफ्ले बताउनु हुन्छ । नगरपालिकाले जारी गरेको नियमवली अनुसार बिद्यालय ब्यवस्थापन समितिको गठन प्रक्रिया शुरु गर्न बिद्यालयहरुलाइ लिखित पत्र काटेपछि प्रक्रीया शुरु भएपनि यसले तनाव सिर्जना गरेपछि यो कार्य पनि रोकिएको छ । हिमालय माध्यमिक बिद्यालयमा शुक्रबार भएको अभिभावक भेलामा नेपाली काँग्रेसले हस्तक्षेप गरेपछि तनाव भएको थियो । नगर शिक्षा अधिकारी शालिकराम काफ्ले र बिद्यालय निरिक्षक गणेश पौड्यालमाथि हातपात एवं दूब्र्यवहार भएपछि प्रधानअध्यापक बिष्णुकान्त झा ले अर्को सुचना जारी नभएसम्म भन्दै अभिभावक भेला स्थगित गर्नु भएको थियो । आइतवार तोकिएको सरस्वती माध्यमिक बिद्यालयको ब्यवस्थापन समिति गठन प्रकृया पनि स्थगित भएको छ । तनाव सिर्जना हुनसक्ने भएकाले तत्कालका लागि बिद्यालय ब्यवस्थापन समिति गठन प्रकृयालाइ रोक्नका लागि सम्बन्धित बिद्यालयलाइ आग्रह गरिएको हो, नगरपालिका श्रोतले भन्यो ।
दमक नगरपालिका उपप्रमुख एवं शिक्षा प्रमुख गीता अधिकारीका अनुसार स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (ज)ले दिएको अधिकार प्रयोग गरी दमक नगरपालिकाको नगरसभाले आवश्यक नियमवली बनाएको हो । अधिकारीले पहिले जारी गरेको नियमवलीमा संशोधनका लागि आवाज उठेकाले त्यसै अनुरुप आफुहरुले संशोधन गरेको भन्दै यसलाइ लागु गर्नु पर्नेमा जोड दिनु भयो । नगरको शिक्षाको सुधारका लागि सबै चिन्तित र गम्भिर बन्नुपर्र्दछ,–अधिकारीले भन्नुभयो ।
संशोधन हुनु अघि बिद्यालय ब्यवस्थापन समिति गठन गर्दा अभिभावक भेलाबाट छानिएका र नगरपालिकाले मनोनित गरेकासदस्यहरुमध्येबाट एकजना अध्यक्ष नगरपालिकाले नियुक्त गर्ने ब्यवस्था भएपनि संशोधन पछि अभिभावकहरुले नै अध्यक्ष तोक्न पाउने ब्यवस्था गरिएको छ । अभिभावकको अधिकारलाइ नियमवलीले कुण्ठित गरेको भन्दै यसको जनस्तरबाट समेत बिरोध भएको थियो । त्यसपछि नगरपालिकाले यसलाइ संशोधन गरेर अभिभावकलाइ नै अधिकार दिइएको बताउदै आएको छ ।
संशोधन अघि ‘नगर शिक्षा समितिले एकजनालाइ बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तोक्नेछ’ भन्ने उल्लेख रहेकोमा संशोधन पछि ‘बिद्यालय ब्यवस्थापन समिति गठन प्रकृया शुरु भै निर्वाचित र मनोनित सदस्यहरुको पदपुर्ति भइसकेको पन्ध्र दिन भित्रमा उक्त समितिले अध्यक्ष छनोट गरी नगर शिक्षा समितिमा पठाउनु पर्नेछ’ भन्ने उल्लेख छ । १५ दिन भित्रमा नगर शिक्षा समितिमा अध्यक्षको नाम पठाउन नसकेको अवस्थामा भने नगरपालिकाले अध्यक्ष नियुक्त गर्ने प्रावाधान समेत राखिएको छ ।
जबरजस्ति गरिए प्रतिकार गर्छौ—काँग्रेस यसैबीच नेपाली काँग्रेस नगर समितिले नियमवली जबरजस्ति लागु गर्न खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ । नगर सभापति रोशन बिष्ठले नगरपालिकालाइ बुझाएको ज्ञापनपत्रमा यस्तो उल्लेख गरिएको छ । नगरपालिकाले आफुहरुको माग बिपरीत पेलेर जान खोजेकाले तनाव आएको छ, यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्दछ, सभापति बिष्ठले भन्नुभयो । साँसद महेन्द्रकुमारी सुब्बा सहितको नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले नगरपालिका परिसरभित्र नै दमक नगर शिक्षा नियमवली जलाएका थिए ।










