काठमाडौं । देशैभरी एकपछि अर्को बलात्कारका घटना सार्वजनिक भइरहेको बेला बलात्कारीलाई फाँसी दिनुपर्ने माग समते बढेर गएको छ । भारतमा समेत निर्भया बलात्कार काण्डपछि फाँसी दिनुपर्ने माग चर्कोरुपमा उठेको थियो । लामो बहसपछि भारत सरकारले १५ वर्ष मुनिका बालक तथा बालिकामाथि बलात्कारका घटनामा फाँसीसम्म हुनसक्ने गरी कानुनमा संशोधन गरेको थियो ।

नेपालमा भने अहिलेको कानुनले फाँसी या जन्मकैदको सजाय तोकेको छैन । समाजमा महिलाहरुलाई जसरी हुर्काइएको छ र महिला तथा पुरुषका बीचको सम्बन्ध विषयमा जे जस्ता मान्यता स्थापित गरिएका छन्, तिनीहरुले बलात्कारपछि महिलाको अवस्था झनै दयनीय पारेको तथ्य कसैले नजरअन्दाज गर्न सक्दैन । त्यसैले बलात्कार सामान्य यौनक्रिया मात्रै रहँदैन । यसले महिलाको अस्मिता, अस्तित्व र मनोविज्ञानको नै हत्या गर्दछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैले बलात्कारपछि महिलाको मृत्यु भए या नभएमा पनि जीवनभरी पलपलमा महिलाले मृत्युको अनुभूति गरिरहेका हुन्छन् तसर्थ बलात्कारको विषयलाई सामान्यरुपमा हेर्न नहुने माग चौतर्फी उठेको छ । यद्यपी कडा कानुन मात्रै बलात्कारका घटनाको समाधान भने होइन ।

समाजमा महिला र यौनलाई हेर्ने दृष्टिकोणको विकास यही ढंगले भइरहने हो र प्रगतिमुखी उच्च नैतिक आचरणको समाज निर्माण गर्न नसक्ने हो भने बलात्कारले निरन्तरता पाइ नै रहन्छ ।

लिङ्गछेदनः सबैभन्दा उत्तम कानुन

बलात्कारमा पुरुषको अहमले भूमिका निर्वाह गरेको हुन्छ । महिलाको प्रतिरोधसँगै यो अहम् झन बढने मनोविज्ञानले बताउँछ । बलात्कारी पुरुषले यौनतुष्टि पुरा गर्नुभन्दा पनि महिलामाथि जीत्नै पर्ने पौरुष्य अहमता र मनोवैज्ञानिक दम्भ पुरा गर्न बलात्कार गर्ने कतिपय अनुसन्धानले पुष्टि गरेका छन् ।

त्यसैले बलात्कारपछि जसरी महिला पल पल मर्नुपर्ने हुन्छ, त्यही प्रकृतिको सजाय दिन बलात्कारी पुरुषको लिङ्ग छेदन गरिनुपर्ने माग कतिपयले गरेका छन् ।

पुरुषको लिङ्गछेदन या बन्ध्याकरणका बारेमा बिभिन्न समयमा बहस नभएका होइनन् । सन् २०१० मा भारतको मद्रास अदालतले केन्द्रसँग यसबारेमा राय माग गरेको थियो । पछि २०१३ मा भारतीय दण्ड संहितामा बालबालिकालाई बलात्कारका घटनामा बन्ध्याकरण गर्ने प्रस्तावलाई जेएस बर्मा कमिटिले भने खारेज गर्यो ।

बन्ध्याकरणमा बलात्कारीको शरीरमा केही रसायनको प्रयोग गरेर उसको यौन क्षमतालाई पूर्णरुपमा निष्क्रिय पारिन्छ । उसको लिङ्ग भएपनि यौन क्रिया गर्न नसक्ने पारिन्छ ।

अमेरिकाका आठ वटा राज्य क्यालिफोर्निया, फ्लारिडा, जर्जिया, लुजियाना, मोन्टाना, ओरेगन, टेक्सास र विस्कोन्सिनमा रसायनिक या सर्जरी गरेर बन्ध्याकरण गर्ने कानुन प्रचलनमा छ ।

यसैगरी अर्जेन्टिना, अष्ट्रेलिया, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, दक्षिण कोरिया, पोल्याण्ड, मोल्डोभा, न्यूजिल्याण्ड, स्वेडेनलगायतका देशमा पनि घटना हेरेर बन्ध्याकरण गर्न सकिने कानुन रहेका छन् ।

कतिपयले अपराधको जरो समाजमा हुने भएकोले अपराधीलाई सजाय दिएर मात्रै यो कम नहुने र अपराधीलाई पनि सुध्रिन दिनुपर्ने माग गर्दै बन्ध्याकरण जस्ता सजायको बिरोध गर्ने गरेका छन् ।

तर बलात्कार मानव सभ्यताको सबैभन्दा जघन्य अपराध रहेकोले यसमा कुनै छूट हुन नहुने तर्क विश्वमा बलियो देखिन्छ । एकपटक महिला बलात्कार भएपछि सधैं पल पल मानसिक रुपमा बलात्कृत भइरहनु पर्ने अवस्थालाई कानुनले गम्भीरतापूर्वक लिनुपर्ने मागलाई ध्यान दिने हो भने लिङ्गछेदन, लिङ्ग निष्क्रिय या बन्ध्याकरणको कानुन ल्याउनु पर्ने देखिन्छ ।

भारत भारतमा बलात्कार विरुद्धको कानुनमा बलात्कारीलाई जन्मकैद (१४ वर्ष), आजीवन कारावास र घटनाको प्रकेति हेरी फाँसीको सजाय समेत तोकिएको छ । यसका साथै बालबालिकामाथि बलात्कारको घटनामा आजीवन कारावास र फाँसीको नयाँ संशोधन भारतले गरेको छ ।