बिष्णुप्रसाद पोखरेल

दमक । झापाको दमकको वडा नं. २ र ३ दुम्से भन्ने स्थानका स्थानीयहरु एकसाता अघिदेखि रातभर सुत्न पाएकाछैनन् भने दिनमा समेत घर छाडेर अन्यत्र काममा बाहिर गएका छैनन् । सोमबार बिहान हात्तीले १० वटा घर भत्काएको र किसानले लगाएको अन्नबाली नष्ट गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हात्तीले आंतक मच्चाएपछि बालबालिका तथा जेष्ठ नागरिकहरु समेत घर बहिर निस्कन डराउन थालेपछि झनै समस्या भएको बताईएको छ । एकसाता अघिदेखि नजिक रहेको हम्सेदुम्से सामुदायिक बनभित्र ५ वटा हात्ती रहेको र सुनसान समयमा बस्तिमा छिर्ने भएकाले ठुलो समस्या आइलागेको वडा नं. ३ का वडाध्यक्ष नबिन बरालले बताउनु भयो । रातको समय र बिहानको समयमा दिनहुजसो हात्ती बस्तिमा छिर्ने गरेको उहाँले बताउनु भयो ।

दिउसोको समयमा चालचुल र मानिसको ओहोरदोहार बढि हुदा हात्तीको बथान नजिक रहेको हम्सेदुम्से बनमा बस्ने गरेकाछन् । राती ८ बजेपछि देखि बिहान ६ बजेसम्म हात्ती गाँउ तथा बस्तिमा पस्दै आएको पाइएको बरालले बताउनु भयो । दिउसो खासै गाँउमा हात्ती पसेको छैन तर रातमा नपसेको दिन भने छैन, वडाध्यक्ष बरालले भन्नुभयो ।

एकसाताको अवधिमा आधादर्जन भन्दा बढि घरहरु भत्काएको र शनिबार राती २ वटा घर भत्काएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार नबिन तामाङ र प्रविन कुरुङबाङको घर शनिबार राती भत्काएको छ भने बिहान अन्य ८ जनाको घर भत्काएर बिचल्लि बनाएको छ । रातभर आफुहरु लागेर हात्तीलाइ जंगलतिर खेदाएको उहाँले जानकारी दिनु भयो ।

अघिल्लो दिन वडा नं. २ मा केहि घर भत्काएको थियो । वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाका अनुसार हात्तीले रातभर सुत्न नसकिने अवस्था भएको छ । वाडमा बिभिन्न टोलहरुमा हात्ती रुघ्नका लागि टोली बनाएर अनिदै बस्नु पर्ने अवस्था रहेको उहाँले जानकारी दिनु भयो । दिनहुजसो हुल बाँधेर आउने हात्तीका कारण वडा धेरै प्रताडित बनेको छ, वडाध्यक्ष सापकोटाले भन्नुभयो ।

मट्टितेल र साइन बितरण

यसैबीच वडा नं. ३ वडा कार्यालयले हात्ती प्रभावित क्षेत्रमा राती राँको बालेर हात्ती खेदाउन मट्टितेल र हात्ती आएको जानकारी दिनका लागि साइरन बितरण गरेको छ । वडाध्यक्ष बरालका अनुसार समुहलाइ राँको बनाएर बाल्नका लागि समुहसमुहमा मट्टितेल बितरण गरिएको हो । स्थानीयहरुले रातमा राँको बालेर हात्ती धपाउने गरेकाछन् । अब बाँच्नका लागि मुश्किल भएका भन्दै स्थानीयहरुले आफ्नो घर र वडा कार्यालयमा आएर सुरक्षाका लागि माग गर्न थालेको उहाँले बताउनु भयो ।