नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत दाङले आदेश दिएको छ ।

म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा आइतबार दाङ पु‍र्‍याइएका प्रकाण्डविरुद्धको मुद्दामाथिको पहिलो सुनुवाइपछि अदालतले अबको ३ दिनमा यथेष्ठ प्रमाणसहित उपस्थित हुन प्रहरीलाई आदेश जारी गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी गत मंसिर १२ मा दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका–१८ निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको थियो । सोही घटनालाई लिएर विश्कर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

दाङ प्रहरीका अनुसार विश्वकर्मामाथि लगाइएको यो सबैभन्दा ठूलो मुद्दा हो । भोजपुरबाट धरौटीमा छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ पुर्‍याएको हो ।