बिष्णुप्रसाद पोखरेल दमक । आफुहरुले पनि समाजमा सहजता पुर्वक चाडपर्वहरु मनाउने अवस्था सिर्जना गर्न तथा सम्मानपुर्वक बाँच्न पाउने अधिकार प्रत्याभुतको माग गर्दै पुर्वका यौनिक तथा लैङ्गिक अल्पसंख्यहरुले दमकमा तीज मनाएकाछन् । आफुहरु अझै पनि समाजमा खुलेर आउन सक्ने अवस्था नरहेको बताउदै अरुको जस्तै आफुहरुको पनि रहर भएकाले तीज मनाएको सहभागिहरुले बताए ।
झापा, मोरङ्ग र सुनसरी जिल्लाका यौनिक तथा लैङ्गिक अल्पसंख्यहरु एवं स्थानीय सामानिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि रहेर तीज मनाईएको लिड नेपालकी कार्यक्रम संयोजक चञ्चला सुब्बाले बताउनु भयो । सुब्बाका अनुसार यसरी पुर्वमा आफुहरु मिलेर पहिलो पटक सामुहिक तीज मनाउने कार्यक्रम राखिएको हो । हामीले जनप्रतिनिधिहरु र सामाजिक संघसंस्थाका प्रतिनिधिहरु बोलाएका थियौ, तर अत्यन्त कममात्र आउनु भयो, सुब्बाले भन्नुभयो ।
उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले समाजमा अहिले पनि घृणाको पात्र भएर बाँच्नु पर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्य हुनु पर्ने बताउनु भयो । आफुहरुले यो पर्वमा पनि समान ब्यवहारको माग गरेको जनाउनु भयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक हुनु आफुहरुको कमजोरी नभएर सुष्टिको बरदानको रुपमा बुझ्नु पर्नेमा उहाँको जोड रहेको थियो । सुष्टिको बरदानप्रति हामी गर्व गर्छौ तर समाजले हामीलाइ हेर्न दृष्टिकोण भने अहिले पनि नकारत्मक छ, सुब्बाले भन्नुभयो ।
दमक नगरपालिका वडा नं. ५ वडा सदस्य ख्यामकुमारी परियारले यो समुदायसंग तीज मनाउनपाउदा खुसि लागेको बताउनु भयो । उनिहरुलाइ हेलाको दृष्टिले हेर्ने नभइ उनिहरुको समस्याको सामधानको लागि सबै लाग्नु पर्ने बताउनु भयो । म उहाँहरुको कार्यक्रममा पहिलो पटक आएको हुँ, उहाँहरुसंगै यसरी तीज कार्यक्रम मनाउन पाउदा मलाइ धेरै खुसि लागेको छ, उहाँले भन्नुभयो ।
नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको बताईदै आएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला, द्धिलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् । दमक सहित पुर्वी नेपालमा लिड नेपाल नामक संस्थाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको बिषयमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
आफुहरुको कार्यक्रममा बोलाएका निम्तालुहरु खासै नआइदिने गरेको आयोजकहरुको दुखेसो रहेको छ । लिड नेपालकी कार्यक्रम संयोजक चञ्चला सुब्बाका अनुसार हरेक कार्यक्रमहरु बोलाइएपनि समाजका लब्धप्रतिष्ठित ब्याक्ति तथा सरकारी कार्यालयका जिम्मेवारी ब्याक्तित्वहरु समेत नआउने गरेको पाईएको हो ।










