बिष्णुप्रसाद पोखरेल दमक/केहि समययता घरबहाल करको बिषयमा दमकमा बिबाद उत्पन्न भएको छ । कतिपय वडा कार्यालयहरुले कोठा भाडामा लिएर बसेका ब्यापारीसंग जबरजस्ति रुपमा घरबहालकर उठाउने गरिएको भन्दै दमक उद्योग बाणिज्य संघले दमक नगरपालिकाको ध्यानकर्षण गराएको छ ।

घरबहालकर घरधनीले तिर्ने भनेर स्पष्ट रुपमा बताइएपनि वडा नं. ६ लगायतका वाडहरुमा भने ब्यापारीलाइ तिर्न बाध्य बनाईएको बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताएकाछन् । उनले यसले ब्यवसायीहरुलाइ आंतकित बनाएको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
घरबहालकर नतिरेसम्म वाड कार्यालयले आवश्यक सिफारीस नदिदा ब्यवसायीहरुले बाध्य भएर उक्त कर तिर्नु पर्ने अवस्था रहेको संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले जनाए ।

आइतवार अध्यक्ष ढकाल, बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, उपाध्यक्ष युवराज घिमिरे लगायतकोे टोलीले नगर प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाको ध्यानकर्षण गराएका थिए । वार्ड कार्यालयले जबरजस्ति गरेको भन्दै जबरजस्ति रोकिनु पर्ने उनिहरुको माग रहेको थियो ।

नगर प्रमुख ओलीले घरबहाल कर घरधनीले तिर्नु पर्ने बताए । उनले ब्यवसायीसंग घरबहालकर नलिइने स्पष्ट पारे । यस बिषयमा बाणिज्य संघलाइ स्पष्ट हुन आग्रह गर्दै नगरपालिकाले ब्यवसायीहरुसंग घरबहालकर नलिने भन्दै वडाकार्यालयहरुलाइ परिपत्र गरिने समेत जनाए ।

घरबहालकर घरमालिकले नै तिर्ने र यस बिषयमा समस्या र बिबाद नरहेको ओलीको भनाइ थियो । यसमा बिबाद र छलफल गर्नु पर्ने कुरा नै मैले देखेको छैन, ब्यापारीहरुलाइ दुख दिने नियत हाम्रो छैन, मेयर ओलीले भने ।