झापाका ९ वटा नदी नियन्त्रणका लागि अध्ययन गरिरहेको चिनियाँ टोलीले माटो परीक्षण (सोइल टेस्ट) सुरु गरेको छ । गत साउनमा एकसातासम्म नदीहरुको अध्ययन गरी चीन फर्किएको टोली दोस्रोपटक नेपाल आएर सोमबारबाट माटो परीक्षणको काम सुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा झापाका ९ वटा नदी नियन्त्रणका लागि चीनले सघाउने सहमति भएको थियो । सहमतिपछि चिनियाँ टोलीले साउनमा नदीहरुको वस्तुगत अवस्था अध्ययन गरी फर्किएको थियो । टोलीले दुई सातासम्म बसेर मावा, रतुवा, कमल, किस्ने, सतासी, कन्काई, विरीङ, हडिया र निन्दा खोलाको अवस्था अध्ययन गरेको थियो ।
हाल दोस्रो चरणको अध्ययनका लागि झापा आएको ४ सदस्यीय चिनियाँ टोलीले ५ दिनसम्म बसेर ५ वटा नदीको माटो परीक्षण (सोइल टेस्ट) गर्ने कन्काईस्थित जनताको तटबन्धन कार्यक्रमका इञ्जिनियर यादब बरालले जानकारी दिए । ‘साउनमा नदी अवलोकनपछि टोलीले कुन प्वाइन्टमा के काम गर्ने भन्ने कुरा टिपेर लगेको थियो, त्यसका आधारमा उहाँहरुले प्लिमिनरी डिजाइन तयार गर्नुभयो,’ उनले भने, ‘त्यो डिजाइन उपयुक्त छ कि छैन भनेर माटोको परीक्षण गर्न चिनिया टोली फेरि नेपाल आएको हो ।’
नदी नियन्त्रणका लागि चिनियाँ टोलीले प्रस्ताब गरेको ‘प्लिमिनरी डिजाइन’मा कन्सट्रक्सनका सामाग्रीहरु धेरै चाहिने बुझिएको इञ्जिनियर बरालले बताए । उनका अनुसार नदी नियन्त्रणका लागि आवश्यक पर्ने ढुंगा, गिटी, बालुवा लगायत अन्य सामाग्री यिनै नदीमा पर्याप्त छ कि छैन भन्ने विषयसमेत यो टोलीले अध्ययन गर्नेछ । सामाग्री पर्याप्त नभएमा अर्को कुन ठाउँबाट संकलन गर्ने, त्यो समेत टोलीले टुंगो लगाउने छ ।
झापाका ९ वटा नदी नियन्त्रण गर्न आएको चिनियाँ टोलीले अधिकांश स्थानमा माटोको बाँध र त्यसको छेउमा तारको जाली राख्ने प्रस्ताव गरेको छ । ‘उनीहरुले प्रस्ताव गरेजस्तो बाँध बनाउन वा जाली हाल्न त्यस ठाउँको माटोले सपोर्ट गर्छ कि गर्दैन भन्ने विषय टोलीले अध्ययन गर्नेछ,’ इञ्जिनियर बरालले भने, ‘उनीहरुले माटोको स्याम्पल लिएर जान्छन्, र काठमाडौँमा परीक्षण गर्छन् ।’
माटोको बाँध बनाउँदा नदीमा पानीको सतह बढ्दासमेत कुनै असर नगर्ने गरी बनाउन यहाँका जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । अन्य विकसित राष्ट्रहरुमा गरिँदै आएको ‘रिभर बैंक प्रोटेक्सन’ यहाँ पनि गर्न खोजिएको चिनियाँ टोलीले जनाएको छ । यो खासै खर्चिलोसमेत नभएको बताएइको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार यो टोलीले नदीहरुमा विभिन्न प्वाइन्ट बनाएर माटोको अध्ययन गर्नेछ । चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका तर्फबाट आएको टोलीले यो चरणमा रतुवा, मावा, किस्ने, कन्काई र विरिङ गरी जम्मा ५ वटा मात्र नदीको माटो परीक्षण गर्ने उनले जानकारी दिए । मावा खोलाको पुलदेखि मास्तिर एउटा प्वाइन्ट बनाएर माटो निकालिने बताइएको छ । टोलीले कन्काई नदीमा भने उत्तरमा दानाबारी, मध्य भागमा पूर्वपश्चिम राजमार्गस्थित पुलनजिकै र दक्षिणमा भारतीय सीमानजिकै प्वाइन्ट बनाएर अध्ययन गर्नेछ । किस्ने खोलाको बिचमा र विरिङको भने पूर्वपश्चिम राजमार्गदेखि उत्तर एउटा प्वाइन्ट बनाइने जनाइएको छ । ‘अधिकतम बाढी आउँदा कुन तहसम्म खोलाले खोतल्दै लान्छ भन्ने थाहा पाउन सोइल टेस्ट गरिने हो,’ जिसस प्रमुख पोर्तेलले भने ।
चिनियाँ टोलीले माटो खन्ने उपकरण, स्याम्पल राख्ने ब्याग लगायतका सामाग्री माग गरेको छ । टोलीले एक ठाउँबाट ३० किलोसम्म माटो निकाल्ने छ । चिनियाँ टोलीले सम्पूर्ण विवरण चीन लगेर भेरिफाइ गरी फाइनल रिपोर्ट अक्टोबर ३० सम्ममा नेपाल सरकारलाई दिने जनाएको छ ।
नेपाल र चीनबीच नदी नियन्त्रणका विषयमा भएको सहमतिअनुसार सुदुरपूर्वी जिल्ला झापामा दोस्रो पटक चिनियाँ प्राविधिक टोली आएको हो । झापाका नदीको अवस्था, त्यसले पार्ने प्रभाव र बर्सेनि बाढीबाट हुने क्षतिका विषयमा चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरेको थियो ।
नदीको जल प्रवाह मार्गमा भएको अतिक्रमण र जलाधार क्षेत्रमा भूमिको अव्यवस्थित उपयोगले समस्या निम्तिँदा बर्सेनि झापाका सयौँ परिवार बाढीबाट विस्थापित हुँदै आएका छन् । खहरेझै उर्लिएर आउने बाढीका कारण बर्सेनि हुने क्षति कम गर्न पनि नदीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।
सीमित स्रोत र साधनका कारण झापामा नदी नियन्त्रणको प्रयास चुनौतिपूर्ण बन्दै गइरहेका बेला चिनियाँ सहयोग भित्रिन लागेको हो । नदीको दुबैतर्फ स्थायी र वैज्ञानिक तटबन्ध गर्न नसक्दा बर्सेनि झापाको सयौँ हेक्टर जमिन बगरमा परिणत हुँदै आएको छ । झापाका यी नौ वटा नदीमा बर्सेनी आउने बाढीले एकलाख भन्दाबढी मानिस प्रभावित हुन्छन् ।
झापामा साना–ठूला गरी दुई दर्जन नदी र खोला छन् । तीमध्ये नौ वटा नदीले झापामा बर्सेनि ठूलो मात्रामा क्षति पु-याउने गरेका छन् । यी नदीमा स्थायी तटबन्ध गर्न सकियो भने हजारौँ बिघा जमिन प्रयोगमा ल्याएर उत्पादन बढाउन सकिन्छ ।










