काठमाडौं, २५ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरणले प्रधानमन्त्री केपी ओलीलाई खुला पत्र लेखेका छन् ।

किरणले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाइ र स्पष्टीकरणसहित प्रधानमन्त्रीलाई सम्बोधन गरी पत्र लेखेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले निर्मला हत्यासँग जोडिएर आफ्नो नाम आएकाले चरित्र हत्या भएको जनाउँदै मानवअधिकार हनन भएको उल्लेख गरेका छन् । किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् ।

‘निर्मला पन्त बहिनीलाई न्याय दिलाउन अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ, तर सहयोग गर्दागर्दै पनि केही व्यक्तिले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुनेगरि चरित्र हत्या गर्ने कार्य भइरहेकाले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक सञ्जालबाट यस्तो मानसिक यातना किन ?’

निर्मला हत्या प्रकरणमा डीएनए परीक्षणबाट पनि आफू निर्दोष भइसकेको प्रमाणित हुँदा पनि डीएनए नतिजा नै गलत भनेर आएको विषयमा पनि किरणले दुखेसो पोखेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितीको प्रतिवेदनप्रति असहमति जनाउँदै लेखेका छन्, ‘राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन पेस तथा सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा मलगायत मेरो परिवार र उक्त दिनमा मसँग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसँग पनि सोधपुछ तथा बुझ्ने कार्य नगरी एकपक्षीय रुपमा प्रतिवेदन तयार गरेको देखिएको छ । यसमा मेरो मानवअधिकार अटाएन र ?’

सामाजिक सञ्जालहरूमा आफैं सुनयोजित रूपमा आफैं अनुसन्धान गर्ने र न्यायको फैसला पनि आफैं गर्ने जस्ता कार्य भइरहेको भन्दै उनले समाचारको आधिकारिकता पुष्टि नगरी मिडिया र सामाजिक सञ्जालमा नलेखिदिन हुन आग्रह पनि गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८० दिन बित्न लाग्दासमेत अहिलेसम्म दोषीको पहिचान हुन सकेको छैन ।