सुर्खेत– कर्णाली प्रदेशमा लामो समयदेखि रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै हुने नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन् । शुक्रबार पत्रकारहरुसँग वीरेन्द्रनगरमा कुराकानी गर्दै उनले विगतको समझदारीअनुसार नै कर्णालीमा संसदीय दलको नेता चयन हुने बताए ।
‘विगतमा ४ र २ मुख्यमन्त्रीको भद्र सहमति भएको सबैलाई जानकारी नै छ ।’ उनले भने, ‘यहाँ पनि त्यहि हुनेछ ।’ उनले कर्णाली प्रदेशमा संसदीय दलको नेताका लागि विवाद नभएको बताए । ‘कर्णालीमा संसदीय दलको नेता को हुने? भन्ने विवाद नै छैन ।’ उनले भने, ‘नेकपाको केन्द्रलाई यहाँका प्रदेशसभा सदस्यले संसदीय दलको नेता चयन गर्न अनुरोध गर्नु भएको छ । सोही आधारमा आगामी कात्तिक ४ गते बस्ने पार्टीको स्थायी कमिटीको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नै संसदीय दलको नेता चयन गर्ने निर्णय गर्नेछ ।’
सचिवालयमा मन लाग्दी स्थायी कमिटी सदस्य शर्माले पार्टीको सचिवालयमा मनलाग्दी भएको बताएका छन् । ‘एक जना नेताले एक बोल्ने, अर्कोले अर्को कुरा गर्ने कार्य भइरहेको छ । यो मनलाग्दी तरिका सचिवालयका नेताहरुले हटाउन जरुरी छ ।’ नेता शर्माले भने, ‘त्यसकालागि आगामी कात्तिक ४ गते बस्ने स्थायी कमिटिको बैठकमा जोडदार रुपमा आवाज उठाउनेछौं ।’
उनले नेकपामा गुट उपगुट नरहेको दाबी समेत गरे । ‘म पार्टी लाइनको मान्छे हुँ, न केपी पक्ष न प्रचण्ड पक्ष ।’ उनले भने, ‘हिजो पार्टी एकिकरणमा मैले जुन भूमिका खेलेको थिएँ, सोही अनुरुप गुट उपगुट नभनेर देश र जनतको समृद्धिको अभियानमा नेकपा अघि बढछ ।’ कर्णाली प्रदेश सरकारको विज्ञ समुहको नेतृत्वकर्ता समेत रहेका नेता शर्माले सरकारलाई केन्द्रको कर्मचारीकै भरुमा परेर नबस्न सुझाव दिएको बताए ।
‘कर्मचारी छैनन्, संरचना छैनन् भनेर हात बाँधेर बस्न जरुरी छैन । कर्मचारी नभए भर्ना गर्नु र जनताको पक्षमा काम गर्न हामीले सुझाव दिएका छौं ।’ उनले भने, ‘त्यसका अतिरिक्त प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन गर्नका लागि विज्ञ समुहले कानूनी तथा अन्य सुझावहरु दिएका छौं । अब प्रदेश सरकार दु्रतगतिमा अघि बढछ भन्ने हाम्रो अपेक्षा छ ।’
उनका अनुसार विज्ञ समूहले कर्णालीको विकासका लागि रणनीतिक योजना बनाउन सहयोग गर्ने जानकारी दिएको छ । ‘कर्णालीको विकासकालागि हामीले पाँच वर्षे, पन्ध्र वर्षे र पचास वर्षे रणनीतिक योजना बानउन सहयोग गर्नेछौं ।’ उनले भने, ‘सरकारले सोही योजना अनुसार काम गर्दै कर्णालीलाई सबैभन्दा पहिलो प्रदेश बनाउन लागिपर्ने हाम्रो धारणा छ ।’ लोकान्तर बाट










