काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको छ। बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बास्तोलालाई अन्तिम पटक शनिबार राति  चिकित्सकले हेरेर निधन भइसकेको घोषणा गरेका हुन् । चिकित्सकले हेर्दा केही समय अगाडि नै बास्तोलाको निधन भइसकेको बताएका थिए ।

बास्तोलालाई बाँसवारीस्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह ४ बजे उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो । उनलाई अस्पतालले दिएको लाइफ सपोर्ट झिकिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि बास्तोलालाई घरमै लगिएको थियो । उनको घरमै दश दान गरिएको थियो। बास्तोलाको अवस्था निकै जटिल बनेपछि हिन्दू परम्परा अनुसार जिउँदो अवस्थामा गरिने कार्य दश दान गरिएको थियो । बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरेका थिए ।

अन्तिम अवस्थामा पुगेको जानकारी पाएपछि काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशाांक कोइराला, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक बास्तोला निवास खुमलटार पुगेका थिए ।

बास्तोलाको जीवनको अन्तिम क्षणका अवस्थामा उनको घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र सुभेच्छुकको भीड लागेको छ ।

बास्तोला ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका थिए । उनलाई त्यतिबेला मस्तिष्कघात भएपछि भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँवमा उपचार भएको थियो ।

त्यसपछि उनको काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई प्रदान गरेको थियो ।

दाहसंस्कारबारे अझै समयको टुंगो नलागेको स्वकीय सचिव काफ्लेले बताए । उनले भने, ‘पार्टीले गर्ने निर्णय भोलि नै थाहा होला । छोरीहरु पनि आउनु पर्ने भएकाले आइतबार साँझ नभइ दाहसंस्कार हुने सम्भावना छैन ।’

काफ्लेका अनुसार एक छोरी इटहरीमा छिन् भने अर्की छोरी बेलायतको लण्डनमा छिन् । इटहरीबाट आइतबार बिहानै आइपुग्ने र लण्डनबाट आउन साँझ ५ बज्ने उनले बताए । पार्टी कार्यालयले भने कुनै निर्णय गरिसकेको छैन ।

कस्तो थियो उनको राजनीतिक चरित्र ?

झापाको बुधबारे स्थायी घर भएका उनी लामो समयदेखि खुमलटारमा पत्नीसहित बस्दै आएका थिए । बास्तोला कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेताका रुपमा चिनिने उनी शान्तिपक्रियाका समेत खम्बा मानिन्थे ।

उनले तत्कालिन समयमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका थिए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा संवाद गराउने उनी एक सेतुसमेत थिए । उनी कोइरालाका अत्यन्तै निकट विश्वासपात्र समेत मानिन्थे ।

बाँस्तोला बिपीको प्रेरणाबाट ०१७ सालदेखि राजनीतिमा होमिएका थिए । बिपीबाटै समाजवादी दीक्षा पाएका उनी ०३० सालको विमान अपहरणको एक नाइके समेत मानिन्थे । बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) मा राजनीतिशास्त्रका पोस्टग्रेजुएट गरेका उनी०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवार भएका थिए तर पराजित भए ।

त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा उनी परराष्ट्रमन्त्री भएका थिए । उनी भारतका लागि पूर्व नेपाली राजदुतसमेत बनेका थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी कांग्रेस भित्र हक्की स्वभावका निडर नेताका साथै जोखिम मोल्न तयार रहने नेताका रुपमा चिनिन्थे ।

पार्टीको चुनावी घोषणापत्र लेखन र पार्टीसँग जोडिएका अन्य दस्तावेज लेखनका विषयमा समेत उनले विशेष भूमिका पाउने गरेका थिए ।