झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो बर्षको दशैँलाई विशेष र भिन्न शैली मनाउन सुरु गरेका छन् । फरक शैलीको काम गरेर सधैँजसो चर्चामा आइरहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रत्येक दसैँमा नौलो कोसेली लिएर गृहजिल्ला झापा आएका छन् । यसपटक उनी झण्डै १२ लाख रुपैयाँको औषधि र आठ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । गत वर्ष मंसिरमा झापा क्षेत्र नम्बर १ बाट आफू पराजित हुँदा निर्वा्चित नेकपाका सुरेन्द्रकुमार कार्कीलाई फूलमालासहित उनी बधाई दिएर चर्चामा आएका थिए।
अघिल्लो शनिबार काठमाडौं–झापा क्षेत्र नम्बर १ सम्पर्क समितिले गरेको कार्यक्रममा पनि उनले रक्तदान गरेर शुभकामना आदानप्रदान गरेका उनले झापामा दशैको बिशेष उपहार लिएर पुगेका छन् । ‘केही रचनात्मक काम गर्दै चाडपर्व बनाऊँ भन्ने मेरो लक्ष्य हो’, उनले भने,‘त्यसकारण म झापामा केही भिन्न कार्यकम लिएर आएको छु ।’
आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर १ मा गएर विभिन्न कार्यक्रमको सुरु गरेका छन् । २७ गते शनिबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बुद्धशान्ति गाउँपालिाकामा उनी एक दर्जन डाक्टरसहित उनी पुगे । करिब पाँच लाखको औषधि लिएर स्वास्थ्य शिविरका लागि उनी त्यहाँसम्म पुग्ने छन्। ‘सबैको सुस्वास्थ्य कामना गर्दै दशैँसँगै स्वास्थ्य शिविर भनेर म गाउँसम्म जाँदैछु। उनले भने ।
कुनै औपचारिक कार्यक्रम बिनानै कांग्रेसको १ नम्बर क्षेत्रीय समिति र बुद्धशान्ति गाउँसमितिको आयोजनामा बुद्धशान्ति गाउँपालिका–१ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविर उद्घाटन ९० वर्षका उजिरमान दाहाल र ८६ वर्षकी टंकमाया दाहालको स्वास्थ्य जाँच गरेर गरिएको थियो ।
शिविरमा नाक, कान, घाँटी, फिजिसियन, स्त्री तथा प्रसूति, छाला तथा यौन रोगका गरी ८ जना डाक्टरले सेवा दिएका थिए । शिविरस्थलमा ल्याब र छुट्टै एचआइभी परीक्षण गर्नेसमेत व्यवस्था थियो । शर्माका अनुसार, ‘मुलुकमा राजनीतिक मुद्दा धेरै सेटल हुँदै गए, अब सामाजिक रुपान्तरणको काम गर्नुपर्छ भनेर यो कन्सेप्ट ल्याएको हुँ, यसमा धेरै साथीहरुले सहयोग र डाक्टरहरुको निःशुल्क सेवा रहेको छ ।’










