नारायण भण्डारी
नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे पूजाआजा गरिन्छ । संसारमा रहेको अज्ञानता नाश गरी ज्ञानको माध्यमबाट सत्यस्थपना गर्न देवी भवानीले सरस्वतीको रुप लिनुभएको यस दिनमा माता महासरस्वतीको पूजाआजा गरिन्छ । महासरस्वतीको अनुकम्पाले साधकलाई साधनाका क्रममा आईपर्ने भ्रम,अपस्मरणबाट मुक्तिको निर्वाध मार्ग मिल्छ । सत्यको जानकारी नभई लौकिक लाभमा मस्त भएका मानिसलाई मन्त्रशक्ति,जपशक्ति,पाठशक्ति संगीतशक्तिको माध्यमबाट जीवनमुक्त बनाउन माता महासरस्वतीले शक्ति प्रदान गर्ने भएकाले उहाँलाई महासरस्वतीका रुपमा पूजा गरिन्छ । वसन्तपञ्चमीमा माता सरस्वतीका साधकहरुबाट पूजाआजा गरिन्छ भने शारदीय सप्तमीमा शक्तिउपाशकहरुबाट महासरस्वतीको आराधना गरिन्छ । सेताफूलपाती प्रयोग गरेर सरस्वतीका स्तोत्र शुद्धसँग सारस्वत खुल्ने उच्चारण गरी देवीभगवती महासरस्वतीको पूजाआराधना गरिन्छ ।
बिहान महासरस्वतीको पूजा गरेपछि यस दिन साँझ कोटहरुमा फूलपाती भित्र्याउने चलन छ । देवी मन्दिर नजिकै स्थापना गरिएको चण्डिथानबाट वा वनदुर्गबाट कोट वा दशैंघरमा केरा,उखुको बोट,दारिम,अदुवा,हलेदो,कर्चुर,मानेको बोट,बेलपत्र,धानकाबाला,जयन्ती,अशोकका पात लगायत नौ प्रकारका शुभवनस्पतिका पल्लवपालुवा तथा प्राकृतिक फलफूलको पूजा गरी देवीमन्दिरमा फूलपाती भित्र्याइन्छ । देशका डाँडाकाडा थुम देउराली,कोटघर नजिकै रहेका चण्डीथान,देउराली,वनखण्ड तथा तोकिएका गुठियारका घरबाट फूलपाती मूलमन्दिरमा लाने चलन छ । साथै घरघरमा स्थापित देवीआराधनाको कोठामा पनि फूलपाती भित्र्याउने गरिन्छ ।
परम्परा अनुसार यस दिन गोर्खा दरबारबाट ल्याइएको फूलपाती राजधानी काठमाडौको दशैंघरमा भित्र्याउने चलन छ । गोर्खाबाट ६ जना मगर पुजारीले धादिङ हुँदै बोकी ल्याएको फूलपाती काठमाडौको टुँडिखेलमा नेपाली सेनाले हर्ष बढाइँका साथ स्वागत गरेपछि विधिपूर्वक पुजारीहरुले दशैंघरमा भित्रयाउँछन् ।
यसै गरी नुवाकोट दरबारबाट ल्याइएको फूलपाती पनि क्षेत्रपाटी भुँडेगणेशस्थानबाट गुरुज्यूको पल्टनले हनुमानढोका दशैंघरमा ल्याएर भित्र्याउने चलन छ ।
फूलपाती भित्र्याएपछि दशैंको रौनक तीव्र हुन्छ । यस दिनदेखि टीकाका दिनसम्म सार्वजनिक बिदा दिइन्छ । दशैं मनाउन काठमाडौबाट गाउंघरतिर जान धुइरो लागेर लाखौं मानिस शहर बाहिर निस्कन्छन् ।
दशैं पर्व राम्रो लगाउने र मीठो खाने चाड भएकाले सर्वसाधारणले आफ्नो कमाइको ठूलै अंश खाद्यपदार्थ, लुगाफाटो गरगहना किन्नमा खर्चन्छन् । यसले गर्दा बजारमा विशेष चहलपहल हुन्छ । बजारमा ठूलो आर्थिक गतिविधि भएको देखिन्छ । तर सप्तमीदेखि भने देशका शहरी क्षेत्रमा मानवीय चाप घट्न थाल्छ र सडक पनि सुनसान हुनथाल्छन् ।










