नारायण भण्डारी

नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ ।उनी सबै दुर्र्गित नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् । महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा नवकुमारीहरु कुमारिका,त्रिमूर्ति,कल्याणी,रोहिणी,काली,चण्डिका,शाम्भवी,दुर्गा र सुभद्राका रुपमा कन्याहरुको पूजा गरिन्छ । नौ कन्यालाई नवकुमारी मानेर पूजा गर्ने परम्परा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानवमीका दिन घरघर स्थापना गरिएका दशैंघर,देशभरका देवीमन्दिर तथा कोटघरमा भव्यपूजाआजा हुन्छ । दुर्गति नाश गर्ने प्रतीकका रुपमा शक्तिपीठहरुमा विधिपूर्वक वलिपूजा तथा सात्विक पूजा गरिन्छ । यस्ता पीठहरुमा राँगा,बोका,भेंडा,कुखुरा,हाँसका भालेको पञ्चवलि पनि दिइन्छ । भने सात्विक पूजा गर्नेले कुभिण्डो केरा काक्रा लगायतका फलफूलको भोग लगाउने चलन छ । शक्ति आर्जनका लागि व्यक्ति वा राज्यशक्तिले समेत महाशक्तिको पूजा गर्ने चलन छ । राज्यशक्तिकी माता तलेजु भवानीको यस दिनमा बडो भक्तिपूर्व पूजा गरिन्छ । काठमाडौको हनुमानढोका उत्तरमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक पटक नवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।