काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान साढे ८ बजेपछि तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५१ मिनेटमा टीकाको साइत रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ भएको हो । त्यसदिन बिहान घटस्थापना गरिएको थियो । फूलपातीकै दिन बिहान तुलजा भवानीलाई स्थिरासन गराइएको छ ।
यसरी लगाउनुस् टीका
बिहान साढे ८ बजेपछि देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । बिहान ९ बजेर ५१ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अहिले टीका लगाइदिने मान्छेपश्चिम फर्किने र टिका थाप्ने मान्छे पुर्व फर्कन उपयुक्त हुने ज्योतिषहरुले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।










