महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्था सार्वजनिक गरेको छ।

प्रधानमन्त्री ओलीको रगत परीक्षण र छातीको एक्सरेपश्चात् अस्पतालले मंगलबार बिहान १० बजे रिपोर्ट सार्वजनिक गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालद्वारा जारी विज्ञप्तिअनुसार मंगलबार बिहान गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक देखिएको र प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको छ।

उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले बिहान सजिलैसँग खाजा खाएकाे र स्वास्थ्यमा उल्लेख्य सुधार अाएकाे जानकारी दिए।

शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सिसियुमा राखेर प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ।

सोमबार साँझ ६ बजे अस्पतालले पछिल्लो परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख भएको जानकारी दिएको थियो।

यसअघि सोमबार नै बिहान पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको थियो।

प्रधानमन्त्रीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलन रहेको रिपोर्ट सार्वजनिक भएको थियो।

मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह र डा. सन्तकुमार दासको टोली प्रधानमन्त्रीको उपचार खटिएको छ।