काठमाण्डु, १४ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री र रक्षामन्त्रीसँग छलफल गरेका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि प्रधानमन्त्रीले छलफललाई तिव्रता दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा बादल र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै छलफल समेत गरेको अस्पतालले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले देशको शान्तिसुरक्षाका विषयमा दुई जना मन्त्रीबाट जानकारी लिइएको बुझिएको छ । साथै प्रधानमन्त्रीले देशको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीले आफूलाई अस्पतालबाट चाडै डिस्चार्ज दिन चिकित्सकहरुसँग आग्रह गरेका थिए । उनले आफू नियमित काममा फर्किन हतार गरेको चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीले ७२ घण्टाभित्र अस्पतालबाट डिस्चार्ज दिन चिकित्सकहरुसँग आग्रह गरेका थिए ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओली मंगलबार अघिल्लो दिनको तुलनामा राम्ररी सुतेको तथा खाना समेत राम्ररी खाएका छन् ।

बुधबार बिहानको स्वास्थ्य परिक्षणका रिपोर्टहरु पनि सन्तोषजनक रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।