छातीमा सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै बालुवाटार निवास फर्किएका छन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आएका र उपचारका क्रममा उनले लिँदै आएका एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा. सायमीसँगै डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थियो ।

डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओलीले डा. अरुण सायमीलाई तपाईको मोबाइल निकाल्नुहोस् भनेका थिए । एकैछिन अकमकिएका डा. सायमीले केही बोल्न नभ्याउदै प्रधानमन्त्री ओलीले भने,‘अस्पतालबाट जानु अघि तपाईहरुसग एउटा फोटो खिच्न मन लागेको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई ठिक बनाउन अहोरात्र खटेका त्रिवि शिक्षण मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्कससग सामुहिक फोटो खिचाए  ।