बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक नगरपालिकामा फोहोबाट उर्जा उत्पादनका लागि प्रक्रिया शुरु भएको छ । दमक नगरपालिकाले यस परियोजना सञ्चालनका लागि इच्छुकहरुका लागि सार्वजनिक सूचना प्रकाशित गरेर प्रक्रिया शुरु गरेको हो । फोहोरबाट मोहोर उत्पादन गर्ने भन्दै नगरपालिकाले ५ बर्षअघि नै प्रशोधन केन्द्र स्थापना शुरु गरेपनि अहिलेसम्म अलपत्र अवस्थामा रहदै आएको थियो ।
दमक नगरपालिका र बैकल्पिक उर्जा प्रबद्र्धन बोर्डबिच फोहोरबाट उर्जा परियोजना पत्रमा सम्झैता भएको र त्यस अनुसार प्रक्रिया अघि बढेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताउनु भयो । उहाँका अनुसार दमक नगरपालिकाबाट उत्पादित क्ुहिने तथा नकुहिने दुबैलाई एकिकृत फोहोर व्यवस्थापन प्रणालीको अवधारणा अनुसार व्यवस्थीत गरी उर्जा तथा जैविक मल उत्पादन गर्ने छ ।
परियोजना सुरु भएपछि दमकले प्रतिदिन १ हजार घनमिटर बायोग्यास, ३० सिलिण्डर एलपीजी ग्यास, ५० किलोवाट बिद्य्ुत र ३ हजार किलोग्राम जैविक मल उत्पादन हुने जनाउदै यो दमक नगरपालिकाको महत्वपुर्ण परियोजनाको रुपमा बिकास हुने अपेक्षा लिईएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो । हामी फोहोरलाइ आम्दानीको श्रोत बनाउन चाहान्छौ र त्यसका लागि काम शुरु भइसकेको छ, ओलीले भन्नुभयो ।
यहाँ उत्पादन भएको फोहोर ब्यवस्थापन गर्न अहिले चुनौती रहेकोमा यो परियोजना शुरु भएपछि फोहोरको समस्या सामधान हुने उहाँले जनाउनु भयो । दमकमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको एक अध्ययनले जनाएको छ । पाथवे नेपाल र नगरपालिकाबीच फोहोर ब्यवस्थापनका लागि ४ बर्ष अघि सम्झौता भएपनि फोहोर ब्यवस्थापनमा कुनै प्रगती नभएको भन्दै आलोचना हुदै आएको थियो ।
यहि आर्थिक बर्षबाट काम शुरु गर्ने तयारी रहेको र उर्जा उत्पादन शुरु भएपछि फाहोर ब्यवस्थापनको बिषयका गुनासाहरु अन्त्य हुने जनाइदै आएको छ । अहिले फोहोर दमकको रतुवा खोलाको बगरमा फ्याकिदै आएको छ । वडा नं. ७ का वडासदस्य श्याम कार्कीका अनुसार कहिले मरेको साननाल सहितको बच्चा त कहिले मरेका जनवारहरु सहित बस्ति नजिक रहेको खोला किनारमा फ्याक्दा स्थानीयहरु पीडित बनेकाछन् ।










