हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनबाट विद्युतीय कार हेटौँडा आइपुगेको छ । प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्णरुपमा प्रतिवन्ध लगाउने घोषणा गरिसकेको अवस्थामा मुख्यमन्त्रीले पनि अब विद्युतीय गाडी नै चढ्ने भएका हुन् ।
मुख्यमन्त्रीले चढ्ने यो गाडी विद्युतबाट चार्ज गरी सञ्चालन हुने छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जामन्त्री बर्षमान पुनले विद्युतीय जिप चढिसकेका छन् ।
प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिबन्ध लगाउने नीति कार्यक्रममा घोषणा गरिसकेको छ ।
सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गर्ने र यातायात सेवालाई वातावरणमैत्री बनाउने अभियान अन्तर्गत मुख्यमन्त्रीले नै यसको कार्यान्वयन थालेका हुन् ।
चीनमा उत्पादन गरिएको बीवाईडी कारको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी छ ।
२ घण्टा चार्ज गर्दा जीप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ । चिनियाँ कम्पनीका यी गाडी नेपालमा सूर्या गुड्स सप्लायर्सले विक्री गर्ने गरेको छ ।
यी गाडीको नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्व-पश्चिम राजमार्गमा केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ ।
पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ । प्रदेश सरकारले विद्युतीय बस पनि सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा हेटौंडा-नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडा लगायत क्षेत्रमा पनि सञ्चालन गरिनेछ ।
नेपालको वातावारणमा स्वच्छता कायम गरिराख्ने एकमात्र भरपर्दो उपाय विद्युतीय गाडीको प्रवर्द्धन भएकोले सरकारले प्रदेशलाई अब विद्युतीय सवारीसाधनतर्फ डोर्याउने मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।
नेपालमा विद्युतीय उत्पादनलाई वृद्धि गरी विद्युतीय सवारीको विस्तार गर्ने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ थियो । केही समय अगाडि मात्र काठमाडौँमा विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।










