बिष्णुप्रसाद पोखरेल
दमक ।दमकमा स्वास्थ्य चौकीबाट तीनबर्ष अघि जिल्ला अस्पतालको रुपमा स्वीकृत पाएको दमक अस्पताल दुइबर्ष अघिदेखि प्रमुख प्रशासक अर्थात मेडिकल सुपरीटेण्डेन्ट(मेसु) बिहिन बनेको छ । शुरुवातको छ महिना डा. बुद्धिबहादुर थापा मेडिकल सुपरीटेण्डेन्टको रुपमा आएपनि त्यसपछि कोहि पनि यहाँ आएका छैनन् ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा अस्पताल सञ्चालक समिति बनेर काम शुरु गरेर बारम्बार रुपमा सम्बन्धित मन्त्रालयमा मेडिकल सुपरीटेण्डेन्ट पठाइदिन आग्रह भएपनि सुनुवाइ नभएको बताइन्छ । दूइ बर्षअघि देखि अस्पताल निमित्त मेडिकल सुपरीटेण्डेन्टको भरमा रहदा अस्पतालको ब्यवस्थापन अस्तब्यस्त बनेको आरोप लाग्दै आएको छ ।
निमित्त मेडिकल सुपरीटेण्डेन्टको रुपमा बिपीन पाण्डेय रहनु भएको छ । प्रशासनिक काम र अस्पतालमा बिरामीको जाँच लगायतको काम एकैजनाले गर्दा समस्या भएको उहाँले समेत जनाउदै आउनु भएको छ । नयाँ अस्पताल भएकाले समस्याहरु थुप्रै रहेकाछन् र त्योसंग जुधेर काम गरिरहेकाछौ, निमित्त मेसु पाण्डेयले बताउनु भयो । बीचमा केहि समय अस्पतालको ब्यवस्थापकीय अधिकारको बिषयमा समेत अन्योल रहेको थियो ।
पोष्टमार्टम सहितको सुविधा रहेको अस्पतालमा स्वास्थ्य बिमा गराएकाका बिरामीहरुलाइ थेग्न नसकेर तीन दिनसम्म पालो कुर्नु परेको भन्दै चर्को बिरोध समेत हुने गरेको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत दमक, गौरादह र शिबसताक्षी नगरपालिका, कमल, र गौरीगन्ज गाँउपालिकाका नागरिकहरुको प्रथम बिन्दु अस्पतालको रुपमा रहेको दमक अस्पतालमा बिरामीहरुले तीन दिनसम्म पालो कुर्नु पर्ने अवस्था रहेको पाईएको हो ।
स्थानीय स्तरबाट गर्न सकिने कामहरु आफुहरुले गरेको र ६ जना स्वास्थ्यकर्मीहरु नगरपालिकाले अस्पतालमा राखेको पनि जनाईएको छ । गुनासो बारम्बार आइरहेको छ र यसको ब्यवस्थापनमा हामी जुटिरहेकाछौ, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनु भयो । सहज रुपमा बिरामीले उपचार पाउनुपर्छ भन्ने आफुहरुको पनि जोड रहेको उहाँले जनाउनु भयो ।
जेष्ठ नागरिकलाइ शत प्रतिशत निशुल्क जाँच र उपचार
यसैबीच दमक नगरपालिकाले दमक अस्पतालमा जेष्ठ नागरिकहरुलाइ निशुल्क उपचारको घोषणा गरेको छ । नगरपालिका उपप्रमुख एवं अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारीका अनुसार ७० बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकले ओपीडि लगाउत औषधि समेत निशुल्क पाउनेछन् । नियमिति जाँच देखि अस्पतालमा सम्भव भएका सबै उपचारहरु निशुल्क रुपमा प्रदान गरिदै आएको छ, अधिकारीले भन्नुभयो ।
बर्थिङसेन्टर सञ्चालनको तयारी
यसैबीच जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालले गर्भवती महिलाहरुलाइ लक्षित गरेर बर्थिङसेन्टर सञ्चालनको अन्तिम तयारी पुरा गरेको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालका अनुसार सबै तयारी पुरा भएको छ । नगरभित्रका गर्भवती महिलाहरुलाइ लक्षित गरेर सुरक्षित मातृत्वका लागि बर्थिङसेन्टर सहितको सेवा शुचारु गर्ने अन्तिम तयारीमा रहेकाछौ, अर्यालले भन्नुभयो । यसै आर्थिक बर्षदेखि गर्भवती जाँचमा आउने महिलाहरुलाइ ४ पटकसम्म १ सय रुपियाका दरले भाडा दिने गरिएको पनि उहाँले बताउनु भयो ।










