डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का तोडिएको छ । जलस्रोत तथा सिँचाइ विभागले सिँक्टा अन्तर्गतको यो आयोजनाको ठेक्का तोडेको हो । ठेकेदारले लक्षित योजनाअनुसार काम नगरेपछि ठेक्का तोडिएको बुझिएको छ ।
सिक्टा राष्ट्रिय गौरवको सूचीमा रहेको देशकै ठूलो सिँचाइ आयोजना हो । यसअन्तर्गत विगत दुई वर्षदेखि डुन्डुवा सिँचाइ प्रणाली सुधारको कामसमेत भइरहेको थियो ।
उक्त काम ठेकेदारले आलटाल गर्दै आएको र यसबाट आयोजना प्रभावित भएकाले सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । सिँचाइ प्रणालीको ठेक्का अहिले देशमै बदनाम कम्पनी पप्पु कन्स्ट्रक्सनले लिएको थियो ।
कोस्टल–पप्पु जेभीका नाममा रहेको एसआइपी/डिआइएस/एमसी/आइसिबी–०१ नम्बरको ठेक्का गत कात्तिक २१ गते ताडिएको विभागले जानकारी दिएको छ ।
९८ करोड ८१ लाख रुपैयाँमा सन् २०१६ जुन २० तारिखमा सम्झौता भएको थियो । ठेकेदारले सन् २०१८ अक्टोबर ८ सम्म जम्मा ६.९ प्रतिशतमात्र काम गरेको विभागले जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको एफआइडिआइसीको बुँदा नं. १५.२ (बी) अनुसार ठेक्का अन्त्य गरिएको विभागको निर्णयमा उल्लेख छ । ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको जमानतबापतको सम्पूर्ण रकम जफत गर्ने निर्णय पनि भएको छ ।घटनारबिचारबाट










