बिष्णुप्रसाद पोखरेल
दमक । कमल गाँउपालिकालाइ आलु र आलुको बीउमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आलु पकेट कार्यक्रम अन्र्तगत मेसिनबाट आलु रोप्ने अभियानको शुरुवात गरिएको छ । ट्याक्टरमा जडान भएको आलु रोप्ने मेशिन अर्थात उपकरणले सजिलै आलु रोपेको प्रदर्शनी गरेर यसमा किसानहरुलाइ आकर्षित गर्ने प्रयास समेत भएको छ ।
कम्तिमा पनि १ घण्टामा करिब ६ कठ्ठा खेतमा आलुको बिउ रोप्न सक्ने क्षमताको मेसिनले मजदुर अभाव र लागत मुल्य आधा घटाउने जनाइएको छ । एक पटकमा २ लाइनमा बिउ र मल खसाल्न सकिने यो उपकरणबाट आफूले चाहेको उचाईमा ड्याङ बनाउन माटो चढाउन सकिने भएकाले किसानहरुको खेतमा अप्ठेरो नभएको सो अवसरमा जानकारी गराईएको थियो ।
लाइनको दुरी ६० देखि ६५ सेन्टीमिटर हुने र आवश्यकता अनुसार थपघट पनि गर्न सकिने यस सम्बन्धि जानकारी लिनु भएका कृषि प्रशिक्षक टंक कट्टेलले बताउनु भयो । उहाँका अनुसार आलुको बीउको दुरी २० देखि २५ सेन्टीमिटरमा खसाल्छ । यो उपकरणबाट रोपिने आलुको बिउको आकार ३० देखि ४० ग्रामको हुने गरेको पनि उहाँले जनाउनु भयो । यसको प्रयोगले किसानको ८० प्रतिशतभन्दा बढि समयको बचत हुने जनाईएको छ ।
गतबर्ष कमल गाँउपालिकाको वडा नं. २ मा मेशिनबाट १८ बिगाहमा ब्यवसायीक रुपमा आलु रोपिएकोमा यो बर्ष ४० बिगाह रोपिने आइपिएम कृषि सहकारी संस्थाका अध्यक्ष यामबहादुर राइले बताउनु भयो । यसका लागि सहकारीले अनुदानमा सहकारीमा आवद्ध किसानहरुलाइ आलुको बीउ, मल र जैबिक ढुसिनाषक औषधि उपलब्ध गराउनेछ । सहकारीले मकै खन्ने मेसिन समेत ल्याएकाले खन्न पनि मेसिनले नै खनिने राइले जनाउनु भयो ।
आलु पकेट सञ्चालन समिति र आइपीएम कृषि सहकारी संस्थाको पहलमा साविक कृषि बिकास कार्यालय हाल कृषि ज्ञान केन्द्र, कमल गाँउपालिका र क्यारिटास नेपालको संयोजनमा आलु पकेट कार्यक्रम शुभारम्भ तथा मेसिनबाट आलु रोपाइ कार्यक्रमको उद्घाटन भएको हो । जिल्लामा पहिलो आलु पकेट क्षेत्रको रुपमा कमल गाँउपालिकालाइ गत बर्ष नै घोषणा गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले गाँउपालिकालाइ आलु र आलुको बीउमा आत्म निर्भर बनाउने घोषणा गर्नु भयो । उहाँले बिषादी रहित आलु उत्पादनका लागि गाँउपालिकाले आलुको बीउ, जैबिक मल प्रदान गर्ने देखि लिएर आलुको सुरक्षित भण्डारनको ब्यवस्था गर्नेसम्मको तयारी गररहेको जानकारी दिनु भएको थियो । किसानले उत्पादन गरेको आलुको भण्डारनदेखि लिएर बजारीकरणसम्मको काममा गाँउपालिकाले सहयोग गर्छ, अध्यक्ष काफ्लेले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख योगप्रसाद खरेलले कृषिका कार्यक्रमहरु अनुदानमुखि भएका कारण अनुदान दुरुपयोग हुँदा अपेक्षित उपलब्धि हासिल नभएको बताउदै जिल्लामा यस्तो हुन नदिने बताउनु भयो । उहाँले कमल गाँउपालिकामा आलु पकेट क्षेत्र निर्माणले यहाँमात्र नभएर जिल्लालाइ नै आलुमा आत्मनिर्भर बनाउनेतर्फ उन्मुख हुनेमा आफु आशाबादी रहेको बताउनु भयो । यहाँका किसानहरुको सक्रियता एवं लगनशिलतामा आफुहरुको सहयोग निर्भर रहने भएकाले आवश्यक र सक्ने सबै प्रकारको सहयोग कृषि ज्ञान केन्द्रले गर्नेछ, खरेलले भन्नुभयो ।
कमल गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, क्यारिटास नेपालका दमक प्रमुख देबेन्द्र पोखरेल लगायतले बिषादी प्रयोग नगरेको आलु उत्पादन हुने क्षेत्रको रुपमा कमल गाँउपालिकाले पहिचान बनाउने जनाउदै यसमा आफुहरुले सक्ने प्राविधिक लगायतका सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कमल गाँउपालिकाको सम्बृद्धिमा आलु उत्पादनको पनि एउटा हिस्सा बन्न सक्ने उहाँहरुको भनाइ थियो ।










