बिष्णुप्रसाद पोखरेल

दमक । सडकमा बेवारिसे अवस्थामा रहेका लागु औषध प्रयोगकर्ता बालबालिकाहरुका लागि आवसीय बिद्यालय सहितको सामुदायिक भवन निर्माणका लागि सहयोग जुटाउने मुख्य उदेश्यले दमकमा माघको दोश्रो सातादेखि शुरु हुने प्रदेश स्तरीय बृहत बालमहोत्सवको तयारीलाइ तिब्र बनाईएको छ । दमक नगरपालिका आफै आयोजक बनेर बाल महोत्सव गर्न लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशमा रहेका बालबालिकाहरुको प्रतिभा बाहिर ल्याउने, बिज्ञान प्रदर्शनी, बालबालिकाहरुको सम्मुनत बिकासका लागि बिज्ञहरुसंग बृहत छलफल र सफलताका कथाहरुलाइ प्रत्यक्ष रुपमा बालबालिकाहरुलाइ सुनाउने उदेश्य सहित महोत्सव गर्न लागिएको महोत्सव मुल आयोजक समितिकी संयोजक तथा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भएको छ ।

माघ १४ देखि १८ गतेसम्म हुने महोत्सवलाइ भब्य बनाउनका लागि झापाका सबै स्थानीय तहका प्रमुख तथा पदाधिकारीसंग समेत छलफल भएको र महोत्सवलाइ समग्र सबैको महोत्सव बनाउने साझा प्रतिबद्धता प्राप्त भएको पनि उहाँले बताउनु भयो । सरकारी स्तरबाट यसरी महोत्सव गर्न लागिएपछि सबै उत्साहित भएका पाएका छौ र तयारीलाइ ब्यापक रुपमा अघि बढाइएको छ, अधिकारीले भन्नुभयो ।

कथा, कविता, निबन्धजस्ता दर्जनौ बिधाहरुमा प्रतियोगीता सञ्चालन गरेर प्रदेश १ मा रहेका सबै सामुदायिक तथा नीजि बिद्यालयहरु समेटीने जनाईएको छ । यसका लागि नगरपालिकाले १० वटाभन्दा बढि उपसमिति बनाएर कामहरु शुरु भएको समेत महोत्सव मुल आयोजक समितिका सदस्य सचिब डम्बरराज बरालले बताउनु भयो । सरोकारवाला निकायहरुसंग छलफल र आवश्यकक सुझाव एवं रायलिने कामलाइ तिब्रताका साथ अघि बढाइएको छ, बरालले भन्नुभयो ।

दमक नगरपालिकाका प्रमुख एवं महोत्सव सल्लाहकार समिति संयोजक रोमनाथ ओलीका अनुसार जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु रहेको सल्लाहकार समिति बनेको र त्यसैको निर्णय अनुसार महोत्सवलाइ सफल बनाउनका लागि कामहरु अघि बढाइने जनाउनु भयो । प्रदेश सरकार, स्थानीय प्रशासन लगायतका महोत्सवमा सरोकार राख्नेहरुसंग प्रारम्भिक चरणको छलफल सकिएको छ, ओलीले भन्नुभयो । महोत्सवमा एकलाखभन्दा बढिको सहभागिता रहने जनाईएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार नगरपालिकाले करिब ६० लाख रुपिया लागत लाग्ने अनुमान गरेको छ । आर्थिक श्रोतको ब्वसथापन र महोत्सवलाइ उदेश्यमा पुर्याउनका लागि ४ महिना अघिदेखि नै प्रयास थालिएको हो । असोजको पहिलोसाता देखि नै यसको तयारी शुरु भएको र अहिले तयारी तिब्र बनाईएको उहाँले जनाउनु भयो ।

बालबालिकाहरुमा रहेको क्षमता अभिभावकलाइ स्वयं एकअर्कालाइ बाँडनका लागि यो महोत्सव लगाइन लागेको उहाँको भनाइ रहेको छ । यसबाट आम्दानी भएको अवस्थामा लागुऔषधमा फसेका बालबालिकाहरुलाइ आवसीय अध्ययनका लागि ब्यवस्थापन गरिने तयारी हो, उहाँले भन्नुभयो ।