जुम्ला – कार्यालय परिसरमै राखिएको जिल्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
चन्दननाथ नगरपालिका परिसरमै क१झ १ नम्बरको गाडी राति १ बजे जलाएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
राति करीब १ः१० बजे नगरपालिकाका पाले विष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताएका छन् । अज्ञात व्यक्तिले ढोकामा ढकढक गरेपछि खोलेर हेर्दा गाडी जलिरहेको देखेको न्यौपानेले बताए ।
घटनापछि स्थानीय, प्रहरी र सेनाको सहयोगमा आगो निभाइएको थियो । गाडीको माथिल्लो भाग पुरै जलेको छ । जलेको गाडी ४० लाख रुपैयाँ बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । नगरपालिका मेयर भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।
जुम्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर र इलेक्टोनिक सामग्री नष्ट गरिएका छन् । डिजिटल गाउँपालिकामा लाखौंका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गाउँपालिका आगजनी गर्न प्रयास गरिएको तर सफल नभएकोजस्तो छ । ‘कागजहरू केही जलाएका छन् तर निभेको छ,’ उनले भने ।
गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । घटनाको विवरणसहित अनुसन्धान शुरू भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए ।










