नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको व्यस्तताका कारण एकता प्रक्रियामा ढिलाइ भएको बताएका छन् । स्व. प्रकाश दाहालको सम्झनामा चरिकोटमा शनिबार आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले प्रायः शीर्ष नेताहरूको विदेश भ्रमणका कारण एकीकरणमा केही ढिलाइ भएको बताएका हुन् ।
‘केही समय म पनि भ्रमणमा थिएँ, प्रधानमन्त्रीजी पनि लामै भ्रमणमा हुनुभयो, त्यसलगत्तै उहाँको स्वास्थ्यमा समस्या भयो, अहिले पनि माधवजी बाहिरै हुनुहुन्छ ।’ प्रचण्डले आफूहरूजस्तै अन्य नेताहरूको पनि विदेश भ्रमणलगायतका कारण छलफल हुन नसकेको बताए ।
बोल्दाबोल्दै भक्कानिए प्रचण्ड
फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रचण्डपुत्र वियोगको पीडाले फेरि एकपटक भक्कानिए । उनले प्रकाश दाहाल आफ्नो पुत्र मात्रै नभएर सिंगो मुलुक परिवर्तन गर्न चाहने एक सशक्त युवा शक्ति भएको धारणा राखे । त्यस क्रममा उनका आँखा रसाएका थिए । प्रचण्डले गत वर्ष आजकै दिनको सम्झना गर्दै पार्टी एकीकरणपश्चात् हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रचारका लागि वर्तमान प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापामा आयोजित चुनावीसभामा सहभागी हुँदै गर्दा हृदयाघातका कारण प्रकाशले अन्तिम सास फेरेको खबर आएको सम्झिए । ‘हतार–हतार काठमाडौं त फर्किएँ, तर उनले संसार छोडिसकेका थिए,’ भावुक हुँदै प्रचण्डले भने । उनले छोरा प्रकाशको निधन एक अकल्पनीय परिघटनाजस्तै भएको बताए ।
मंसिर पहिलो साताबाट एकीकरणले निरन्तरता पाउने
प्रचण्डले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणबाट ५ मंसिरमा फर्किने र ६ गते शीर्ष नेताहरूको बैठक बसी एकीकरण प्रक्रियालाई निरन्तरता दिने बताए । उनले त्यसपछि स्थायी समिति र केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक राखेर प्रदेश समिति र जिल्ला समितिको एकता टुंग्याउने तयारी भइरहेको जानकारी दिए । प्रचण्डले त्यसपछि क्रमशः तल्लो तहको एकीकरण प्रक्रियाले निरन्तरता पाउने भन्दै तयारीका लागि जिल्लास्थित नेता कार्यकर्ताहरूलाई निर्विवाद ढंगले एकीकरणमा जुट्न निर्देशनसमेत दिए ।
सरकारको गियर परिवर्तन हुन्छ
प्रचण्डले यसअघि सरकारका काम कारबाहीमा केही गुनासो र सुस्तता देखिए पनि अब भने गियर परिवर्तन हुने दाबी गरे । तीन तहका सरकारको फरक–फरक विधि भएको र केन्द्रीय सरकार सुस्त र परिणाममुखी नभएको भन्दै जनताका केही गुनासा आउने गरेको उल्लेख गर्दै उनले तत्कालै सरकारको गियर परिवर्तन हुने बताए ।नयाँपत्रिका










