मनहरि तिमिल्सिना/मङ्सिर ३, काठमाडौं । युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।

युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको गत वर्ष आजकै निधन हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रकाश दाहालको स्मृतिमा प्रचण्ड निवास खुमलटारमा प्रकाश दाहाल स्मृति कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रकाशको बारेमा प्रकाशित स्मारिका बिमोचनसमेत हुने उनको परिवारले जानकारी दिएको छ । दिवङ्गत प्रकाश र उनकी दिदी ज्ञानु दाहालको स्मृतिमा निर्माण भएको प्रज्ञा स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो ।

स्मृति कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु र शुभेच्छुकहरुलाई आमन्त्रण गरिएको छ । आज नै प्रकाश दाहालका शुभेच्छुकहरुले देशका विभिन्न जिल्लामा द्वीप प्रज्ज्वलन लगायतका कार्यक्रम गरी स्मृति दिवसमा मनाउँदैछन् ।

वाइसिएल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम, विभिन्न खेलकूद प्रतियोगिता लगायतका कार्यक्रम गरी प्रकाश दाहाल स्मृति दिवस मनाउँदैछन् । सोमबार नै युवाहरुले माइतीघर मण्डलामा प्रकाशको स्मृतिमा द्वीप प्रज्ज्वलन गर्दैछन् ।

नेकपाका अध्यक्ष प्रचण्डका छोरासमेत रहेका प्रकाश दाहाल लोकप्रिय युवा नेता थिए । मीडियामैत्री, सरल स्वाभाव र व्यवस्थापनका दृष्टिले असाध्यै कुशल मानिने प्रकाशका सामाजिक सञ्जालमा बीसौं लाख समर्थक थिए ।

यस्तो छ साकार दाहाल ‘प्रकाश’को संक्षिप्त जीवनी

नाम : साकार दाहाल ‘क. प्रकाश’

जन्मस्थान : शिवनगर, भीमसेननगर चितवन

जन्म मिति : २०३८ असार १७ गते

बुवाको नाम : पुष्पकमल दाहाल ‘प्रचण्ड’

आमाको नाम : सीता दाहाल

पत्नीको नाम : बीना मगर

छोराहरु : प्रसिद्ध दाहाल/प्रणव दाहाल

जिम्मेवारी :

१. पोलिट्व्यूरो सदस्य, ने.क.पा. (माओवादी केन्द्र)

२. स्वकीय सचिव, अध्यक्ष क. प्रचण्ड

३. विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध

सगरमाथा आरोहण : २०६९ जेठ ९ गते

राजनीतिक इतिहास :

ने.क.पा. (माओवादी) को पूर्णकालीन कार्यकर्ता (२०५७)। अध्यक्ष प्रचण्डको सचिवालय, अङ्गरक्षक र व्यवस्थापनमा निरन्तर सक्रिय। २०५७/२०५८ मा आधारभूत शैन्य तालिम र जनमुक्ति सेनामा क्रियाशील। अध्यक्ष प्रचण्डका सबै राजनीतिक सङ्घर्षमा बलियो साथ। २०६५ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव। २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव। २०७३ मा नेकपा (माओवादी केन्द्र) को पोलिट्व्यूरो सदस्य

अन्य विवरण :

१२ बुंदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका। सूचना, प्रविधिमा विशेष दख्खल र क्रियाशीलता। अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान। प्रचण्डको दोस्रो प्रधानमन्त्री काल व्यवस्थित र सफल बनाउन विशेष योगदान। प्रवासमा रहेका नेपालीहरुसँग विशेष सम्बन्ध, सम्पर्क तथा उनीहरुको उद्दार र राहतमा अविस्मरणीय योगदान। २०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र पार्टी एकताको संकल्पको वातावरण बनाउन सक्रिय भूमिका। बहुमूखी प्रतिभाका धनी, पोख्त प्राविधिक, कुशल व्यवस्थापक र प्रशासक। सामाजिक सञ्जालमा झण्डै २० लाख ‘फ्लोअर्स’। मीडियामैत्री व्यक्तित्व। समन्वयकारी व्यक्तित्व, सरल, जनतासँग घुलमिल हुन रुचाउने, जिम्मेवारी कूलशलतापूर्वक निर्वाह गर्ने कार्यशैली। अध्यक्ष प्रचण्डका ‘सम्पर्क सुत्र’, असल छोरा, स्वकीय सचिव र सल्लाहकार। बाबुको सफलतामा रमाउने छोरा।

निधन : २०७४ साल मङ्सिर ३ गते बिहान, हृदयघात, काठमाडौं ।