बिष्णुप्रसाद पोखरेल
गौरादह /गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले बहुमतको आडमा उपप्रमुख सहित कार्यपालिका सदस्यहरुले अधिकार कटौती गरेर काम गर्न नदिने गरेकाले समस्या उत्पन्न भएको बताएकाछन् । उनले भने, मेरो हातखुट्टा बाध्ने प्रयास भएको छ, यसरी अघि बढ्न सकिन्न भनेर मैले भनेको छु ।
बिहिबार कार्यपालिका बैठक बस्दाबस्दै उठेर हिडेको आरोप लागेका उनले बैठक स्थगित गरेर हिडेको जनाए । त्यस लगत्तै उपप्रमुख गीता भेटवालले कार्यापालिका बैठक बसाएपछि नगरपालिकामा लफडा छताछुल्ल भएको छ ।
बिहिबार बेलुका उपप्रमुख भेटवालले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेपछि बिहान नगर प्रमुख शाहले पत्रकार सम्मेलन गरेर पत्रपत्रिका र सामाजिक सञ्जालमा आएका बिषयबस्तुमा सत्यता नरहेको जनाए ।
नगरप्रमुख शाहले पछिल्लो समयमा नीति नियम बनाउने बिषयमा बिबाद भएको भने स्वीकार गरे । उनले भने, मेरो हातखुट्टा बाँध्ने अर्थात अधिकार कटौती गर्ने प्रयास भएकोले मैले बैठक स्थगित गरेको हो, हिजो केहि निर्णय भएको छैन ।
उप्रमुख भेटवालले भने निर्णय भएको र नगर प्रमुख शाहले त्यसलाइ प्रमाणिकरण गर्ने बताइन् । निर्णय भएको छ र प्रमुख ज्यूले त्यो प्रमाणिकरण गर्नुहुनेछ, उपप्रमुख भेटवालले भनिन् ।











