बिष्णुप्रसाद पोखरेल

दमक । झापाको कमल गाँउपालिकाका कुखुरा पालक किसानहरुले कुखुराको लागतमूल्य समेत नपाएर बिजोग भएपछि आफ्ना कुखुरा आफै काटेर कुखुराको मासुको बिभिन्न परिकार बनाएर बिक्री गर्नका लागि १० दिने ‘चिकेन फेस्टिवल’ शुरु गरेकाछन् । कमल गाँउपालिकाको सहयोग र कमल गाँउपालिका स्तरीय पंक्षी पालन समितिको संयुक्त आयोजनामा आइतवारदेखि चिकेन फेस्टिवल शुरु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुखुराको चल्ला नै एकसय रुपियामा किन्नु पर्ने र एक केजीको कुखुरा बनाउन लागतमूल्य १ सय ५० रुपिया भन्दा बढि लाग्ने गरेकोमा यो मूल्य समेत नपाएको कुखुरापालक किसानहरुले बताएकाछन् । बजारमा भने कुखुराको मूल्य प्रतिकेजी ३ सय रुपिया रहेको छ । बजार मूल्यभन्दा आधामा हामी कुखुरा समेत लैजान नमानेपछि हामी हाम्रा पीडा पोख्नका लागि रचानत्मक रुपमा सडकमा आएका हौ, कुखुरापालक किसानहरुको भनाइ छ ।

कमल गाँउपालिका स्तरीय पंक्षी पालन समितिका अध्यक्ष समेत रहनु भएका कुखुरापालक किसान गोबिन्द खनालका अनुसार घाटा खाएर बिक्री गर्नु भन्दा किसानका कुखुरो किनेर ल्याएर कुखुराको मासुको बिभिन्न परिकार बनाएर बिक्री गर्न शुरु गरिएको हो । बिचौलियाका कारण आफुहरुले कुखुराको मुल्य नपाएको जनाउदै सबैको ध्यानकर्षण हुने र बिचौलिया प्रथाको अन्त्य गर्न सरोरकावाला निकायहरुलाइ दबाब दिने समेत उहाँले बताउनु भयो ।

हामीले १ सय ६० रुपिया समेत नपाएपछि बाध्य भएर आफै काटेर परिकार बनाएर बेच्न बाध्य बनेका हौ, खनालले भन्नुभयो । यो आफुहरुको एक प्रकारको आन्दोलन भएको समेत उहाँले बताउनु भयो । हामीले किसानबाट १ सय ८० रुपिया प्रतिकेजी कुखुरा किनेर आफै हामी लागेर परिकार बनाइ बिक्री गर्दैछु, यो हाम्रो राज्यको ध्यानकर्षण गराउने सकारत्मक आन्दोलन हो, उहाँले भन्नुभयो । खनालले मात्र आफ्नो खोरमा २ हजारभन्दा बढि कुखुरा लगाउनु भएको छ ।

कमल गाँउपालिकामा दैनिक १ हजारभन्दा बढि कुुखुराहरु उत्पादन भइरहेकोमा अहिले २ देखि ३ सयवटा भन्दा बढि कुखुरा नबिक्दा समस्या भएको किसान एवं समितिका सचिब दीपक भट्टराइले बताउनु भयो । हामीले लागतमूल्य पाएका त छैनौ घाटा खाएर बिक्री गर्न समेत समस्या भएको छ, उहाँले भन्नुभयो । अब हामी आफै पकाउछौ र बिक्री गर्छौ, यसबाट केहि राहत मिल्ने आशा रहेको छ, भट्टराईले भन्नुभयो ।

कुखुराका परिकारहरु चिकेन रोष्ट, चिकन चिल्लि, दमक चिकेन बिर्यानी, जाँते कलेजो, चिकेन ६५ लगायतका परिकारहरु बजारमूल्य भन्दा ५० प्रतिशत सस्तोमा आफुहरुले ख्वाउने अर्का किसान इन्द्र दाहालले बताउनु भयो । बिचौलियाले खानुभन्दा हामीले सिधै उपभोक्तालाइ नै सस्तोमा कुखुराको मासुको परिकारहरु उपलब्ध गराउने सोचले १० दिन लामो चिकेन फेस्टिवल गरेका हौ, उहाँले भन्नुभयो ।

कमल गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बिचौलियाका कारण कुखुरा पालक किसानहरु मारमा परेको पाएको जनाउदै यस बिषयमा आफुहरु समेत गभ्भिर भएको बताउनु भयो । किसानहरुले पीडा पोखेपछि कुखुरा नबिकेर खोरमा रहनु भन्दा यस प्रकारको फेस्टिवल गर्नका लागि गाँउपालिकाले यसमा ध्यानकर्षण भएर नै सहयोग गरेको हो, शिवाकोटीले भन्नुभयो । बजारीकरणका लागि गाँउपालिकाले सहयोग गर्ने समेत शिवाकोटीले बताउनु भयो ।

कमल गाँउपालिकाभित्र २ सय ५० भन्दा बढि किसानले ब्यवसायीक रुपमा कुखुरा पालन गर्दै आएको बताईएको छ । झण्डै दैनिक ३ हजार केजी कुखुरा बिक्रीका लागि योग्य हुने गरेको पनि सो कमल गाँउपालिका स्तरीय पंक्षी पालन समितिले जनाएको छ ।