बिष्णुप्रसाद पोखरेल दमक । गौरादह नगरपालिका आफ्नो नब निर्मित भवनमा सर्ने क्रममा नगर प्रमुख र उपप्रमुखबीच कुन कोठामा बस्ने भन्नेमा बिबाद उत्पन्न भएको पाईएको छ । भवन डिजाइनको क्रममा शुरुवातमा नगर प्रमुख रोहितकुमार शाहले आफ्ना लागि भनेर बनाएको कोठामा उपप्रमुख गीता भेट्वालले दाबी गरेपछि बिबाद समेत पैदा भएको बताइन्छ ।
गौरादह बजारमा भाडामा रहदै आएको भवन छाडेर एक महिना अघिदेखि आफ्नै भवनमा नगरपालिकाको कार्यालय रहेको छ । पछिल्लो समयमा नीति, नियम र कार्यबिधिको बिषयमा नगर प्रमुख शाह र उपप्रमुख भेट्वालबीच तनाव बढेपछि कार्यकक्षको बिषयमा समेत बिबाद भएको रहस्य बाहिर आएको हो । उपप्रमुख भेटवाल खुला ठुलो कार्यकक्षमा रहनु भएको छ भने नगर प्रमुख शाह बीचमा एउटा साघुरो कोठामा हुनुहुन्छ । कार्यपालिका बैठकमा बिबाद भएपछि नगर प्रमुख शाहले बैठक नै स्थगन गरे पश्चात उपप्रमुखले आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक बसाइ निर्णय सार्वजनिक गरेपछि दुइजनाबीचको बिबाद बाहिर छताछुल्ल भएको छ ।
त्यसको प्रतिकारमा नगर प्रमुख शाहले पत्रकार सम्मेलन गर्ने क्रममा कोठा साघुरो भएको पत्रकारहरुले बताएपछि दुखेसो गर्नु भएको थियो । कोठा त ठुलै बनाएको थिए नी, के गर्नु र तपाइहरुलाइ थाहा नै छ त्यस्तै भयो, उहाँले भन्नुभयो । उहाँले आफुलाइ बहुमत देखाएर ‘रबस्टाम्प’ बनाउन खोजिएको समेत बताउनु भयो ।
नगरप्रमुख शाह नेपाली काँग्रेस र उपप्रमुख भेटवाल तत्कालीन एमाले हाल नेकपाबाट निर्वाचित हुनु भएको हो । उपप्रमुख भेटवालको पक्षमा नगर कार्यापालिकामा दुइतिहाइभन्दा बढि मत रहेको छ । नगर उपप्रमुख भेटवालले आफुहरुले दम्भ नदेखाएको जनाउदै नगर प्रमुख शाहको कार्यशैलीका कारण नगरपालिका अनिर्णयको बन्दि भएको बताउनु भयो । हामी मिलेर नै जान चाहेका छौ तर मेयरको मनोमानी हुन दिदैनौ, उहाँले भन्नुभयो ।
कार्यकक्षको बिषय टुंगो लागेपनि अब नगर प्रमुख र उपप्रमुखबीच शिक्षा समितिको प्रमुख को बन्ने बिषयमा बिबाद चर्किएको छ । दुबैजनाले आफ्नो दाबी प्रस्तुत गरेपछि शिक्षा कार्यबिधि नै नगर कार्यपालिका बैठकबाट पास भएको छैन । वडा नं. १ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले उपप्रमुख भेटवालले शिक्षा समितिको नेतृत्व नखोजेको तर कार्यापालिको निर्णय बमोजिम तोकिनु पर्ने माग रहेको बताउनु भयो । कार्यपालिकामा उपप्रमुखको पक्षमा दुइतिहाइभन्दा बढि मत रहेकाले शिक्षा कार्यबिधि पास हुन नसकेको जनाईएको छ ।










