विष्णुप्रसाद पोखरेल
कचनकवल । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत धान सुपरजोन घोषणा भएको कचनकलवमा शुक्रबारको दिन किसानहरु कतै खेतमा धानको बिटा बान्दै गरेको त कतै थ्रेसरबाट धान झार्दै गरेको भेटिन्थे । धमाधम किसानहरु बर्षे धान भित्र्याउन ब्यस्त रहेको अवस्थामा थिए । किसानको खेतभरी धानको कुनीउ लगाएको देखिन्थ्यो ।
कचनकवल ५ साविक पाठामारी ९ का किसान नाशिर मिया, उहाँकी श्रीमति अखिलिमा र छोरी नाजमिन मिया भने धमाधम खेतमा धान रोपिरहनु भएको थियो । छिपछिपे एवं खेतमा सामान्य हिलोपानीमा उहाँहरुले धान रोपेको नजिक सडकबाट हिड्नेहरु अचम्म मानेर हेरिरहेका भेटिन्थे । धान काटेर धन्काउनेको भिडमा एकजना किसानले धान रोपिरहेको देखेर स्थानीयहरु नै छक्क परेर हेरिरहेको पाईएको हो ।
मियाको परिवार यस क्षेत्रमा एकमात्र यस्तो किसान बन्नु भएको छ जसले एकबर्षमा तीनपटक धान फलाउनु भएको छ । मंसिर महिनामा नै धान रोप्ने उहाँ नै यसक्षेत्रको पहिलो किसान हो । अघिल्लो बर्ष पुगनपुग ५ कठ्ठामा तीन पटक धान फलाएको थिए, यो पटक २ बिगाह धान रोप्दैछु, मियाले भन्नुभयो । आफ्ना साढे ३ कठ्ठा र बाँकी अधिया(उत्पादनको आधा आफु, आधा साहु) खेती गर्दै आउनु भएकोमा यो पटक भने ठेक्कामा उहाँले खेत लिएर खेती गर्नु भएको हो । प्रतिबिगाह २० मन धान उहाँले बार्षिक रुपमा खेतको ठेक्का तिर्नु पर्छ ।
पहिलो बर्ष अधिया धानखेती गर्दा आफ्नो लगानी समेत नउठेपछि उहाँ बिरक्तिनु भएको थियो । स्थानीय नौलो भविष्य साना किसान सहकारी संस्थाले जग्गाधनीसंग समन्वय गरेर ठेक्कामा जग्गा मिलाइदिएपछि गतबर्षदेखि भने उहाँले राम्रो आम्दानी लिन थाल्नु भएको छ । गतबर्ष २ बिगाहमा २ बाली र ५ कठ्ठामा तीनबाली धान लगाउनु भएका उहाँले यो पटक भने २ बिगाहमा नै ३ पटक धान रोप्नु भएको हो । धान काटेर थन्क्याएको केहि समयमात्र भएको छ, फेरी रोपाइ गर्दैछौ, उहाँले भन्नुभयो ।
४ जना छोरीछोरी सहित ६ जनाको परिवार रहेको मिया परिवारमा गरिबीले कोहि पनि पढ्न पाएनन् । कसरी पढाउनु, घरमा खान समेत पुग्ने अवस्था थिएन, खेतमा धानको गाँज खेतमा गाँड्दै मियाले भन्नुभयो । उहाँले हर्दिनाथ जातको धानको वीउ भने गत कार्तिक २० गते नै राख्नु भएको थियो । नजिकै रहेको झिङ खोलाको पुलमुनी उहाँले धानको बीउ राखेको पाईएको छ । पुलमुनी अलिकति सम्याएर त्यहि बीउ राखेको हुँ, बीउ राम्रो आएको छ, मियाले भन्नुभयो ।
सिचाइका लागि खासै कुनै ब्यवस्था नरहेको उहाँले बताउनु भयो । एक इन्चको सानो मोटर छ, २४ नै घण्टा जलाउदा बल्लबल्ल छिपछिपे पानी बनाएर रोपीएको हो, मियाले भन्नुभयो । नौलो भविष्य साना किसान सहकारी संस्थाकी प्रबन्धक एवं धान सुपरजोन सञ्चालक समिति सचिब भगिरथा प्याकुरेलका अनुसार सहकारीले उहाँको मिहिनेतलाइ हेरेर सिचाइका लागि मोटर राखिदिने तयारी गरेको छ । २ बर्षदेखि मियाको परिवारको लगनशिलताबाट हामी प्रभावित भएकाछौ र हामी सिचाइका लागि आवश्यक सहयोग गर्ने तयारीमा छौ, प्याकुरेलले भन्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइका धान सपरजोन बनियानी, झापाका प्रमुख धनबहादु थापामगरका अनुसार यहाँ उल्लेख्यमात्रामा बोरो खेती हुने गरीपनि मंसिरका दिनमा नै धान रोपाइ भएको यो पहिलो हो । यो सफलताले यहाँ तीनखेती धानको सम्भावानालाइ देखाएको छ, उहाँले भन्नुभयो । धानको तीनखेती सम्भव भएमा यसले धानको आयतप्रतिस्थापन हुने जनाईएको छ । हामी ब्यवसायीक रुपमा धानको तीनखेतीका लागि अब प्रवद्र्धनात्मक तरिकाले लाग्ने छौ, थापामगरले भन्नुभयो ।
धान सपरजोन कृषि अधिकृत सागर बिष्टले अगुवा धानखेती (बोरो)को तयारीमा किसानहरु रहेकाछन् । पुषको दोश्रोसातादेखि धान रोप्नका लागि किसानहरुको बीउ तयार भइरहेको पाएकाछौ, मंसिरका दिनमा नै भने अहिलेसम्म यहा खेती भएको भने हामीलाइ थाहा थिएन, यो नै पहिलो हो, बिष्टले भन्नुभयो । यहाँ ५ सयभन्दा बढि हेक्टरमा बोरो धान खेती हुने उहाँको भनाइ छ ।










