विष्णुप्रसाद पोखरेल दमक । झापाको भद्रपुरमा रहेको बिमानस्थल स्तरउन्नती तथा बिस्तारको काम तिब्र रुपमा अघि बढेको पाईएको छ । २०३६ सालमा घाँसे धावनमार्गबाट उडान सेवा शुरु गरेको भद्रपुरको चन्द्रगढी बिमानस्थलको स्तरउन्नतीको काम तिब्र रुपमा अघि बढेको र दूइ महिनाभित्रबाट नै रात्रकालीन उडान शुरु गर्ने अवस्थाको पुग्ने समेत बताईएको छ ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुर झापाका प्रमुख पुर्ण चुडालका अनुसार इन्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रविधिबाट जहाज ल्याण्ड शुरु भएपनि अहिले पनि रात्रीकालिन उडान सम्भव नभएकाले त्यसका लागि रन वे लाइट जडानको काम तिब्र रुपमा शुरु गरिएको छ । प्रविधिको उच्चतम प्रयोग र बिस्तारसंगै बिमानस्थलको धावनमार्ग बढाउनेदेखि लिएर पार्किङस्थल बिस्तार गर्नेसम्मको काम तिब्र रुपमा भइरहेको छ, चुडालले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसै आर्थिक बर्षभित्र स्तरउन्नतीका कामहरु गरिसक्ने गरी काम भइरहेको चुडालले बताउनु भएको छ । माघ १५ गतेभित्रमा हामी रनवे लाइट जोडेर रात्रीकालिन अवस्थामा समेत बिमान अवतरण गर्न सक्ने अवस्था सिर्जना गर्छौ, चुडालले भन्नुभयो । अहिले बिमानस्थलभित्र धमाधम रुपमा लाइट राख्नका लागि आवश्यक काम भइरहेको उहाँले जनाउनु भयो ।

आईएफआर प्रविधि जोडिसकिएपनि यसले मात्र नपुग्ने बताउदै थप स्तरउन्नतीका लागि काम भइरहेको उहाँको भनाइ रहेको छ । पुरानो अर्थात भिएफआर प्रविधिबाट जहाज अवतरण हुँदै आएकोमा यसको अन्त्य भएको अहिले १६ सय मिटर भिजिविलिटीमा नै बिमान अवतरण गर्न सकिने चुडालले बताउनु भयो । यसभन्दा अअगाडि ५ हजारमिटर भिजिविलिटिमा मात्र बिमान अवतरण हुने गरेको थियो ।

बुद्ध, श्री, सौर्य, यति र नेपाल एयरले नियमित उडान भर्दै आएको भद्रपुर बिमानस्थलमा उडानहरु थप गर्नका लागि आवश्यक प्रक्रियाहरु भइरहेको पनि जनाईएको छ । काठमण्डौ भद्रपुरमात्र नभएर यहाँबाट पोखरा, नेपालगन्ज, उत्तरी पहाडि जिल्लाहरुमा समेत उडानका लागि आवश्यक तयारी भइरहेको छ, चुडालले भन्नुभयो । दैनिक उडान थप हुने क्रममा रहेको उहाँले बताउनु भयो ।

१५ सय मिटर धावनमार्ग रहेको बिमानस्थलमा धावनमार्गलाइ समेत बिस्तार तथा ब्यवस्थित (ओभर ले) गर्ने काम अघि बढेको जनाउनु भयो । १० बिगाह जमिन अधिग्रहणको अन्तिम प्रक्रियामा रहेको छ, चुडालले भन्नुभयो । यात्रु प्रतिक्षालय बिस्तार तथा मर्मत सम्भारदेखि लिएर अन्य पुर्वधारका कामहरु समेत अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ । अहिले ३ वटासम्म बिमान पार्किङ गर्ने अवस्था रहेकोमा पार्किङ थप गरेर तत्कालै ५ वटा बिमान अट्न सक्ने पार्किङस्थल बनाउदैछौ, चुडालले भन्नुभयो ।

यसैबर्ष भित्र दमकल

दैनिक ८ वटा उडान हुदै आएको बिमानस्थलमा फायर फाइटिङ युनिट समेत यहि बर्षभित्र राखिने र यसका लागि आवश्यक पुर्वधार निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ । बिमानस्थलमा दमकल समेत रहेको छैन । यसै आर्थिक बर्ष भित्रमा दमकल पनि आउनेछ र यसका लागि सबै तयारी पुरा भएको छ, बिमानस्थलका एय ट्राफिक कन्ट्रोलर किशोरकुमार खत्रीले भन्नुभयो । उहाँका अनुसार यस विमानस्थलमा अहिले बुद्धका २, यतिका २, श्री को १, नेपाल एयरलाइन्सका १ र सौर्यका १ गरी सात वटा विमानले नियमित हवाई सेवा दिँदै आएको उहाँले जनाउनु भयो ।

४ देशका पर्यटक आउछन्

नागरिक उड्डयन कार्यालय भद्रपुर झापाका प्रमुख चुडालका अनुसार यहाँ स्वदेशी बिदेशी बराबरजस्तो यात्रुहरु आउने गरेकाछन् । भारतका सबैभन्दा बढि, भुटान, बंगालादेश र बर्माका यात्रुहरुले यो हवाइमैदान प्रयोग गर्ने गरेको उहाँले जनाउनु भयो । हामी अहिलेको चापलाइ आउदो बर्षदेखि दोब्बरभन्दा बढि बनाउन सक्छौ, यसका लागि नै पुर्वधार बिकासमा जुटेका हौ, चुडालले भन्नुभयो । बिहान चाँडो र साँझ अबेरसम्म उडान हुँदा बिहान काठमण्डौ वा पोखरा गएको यात्रु बेलुका फर्कनेसक्ने अवस्था ल्याएमा बाह्य पर्यटक तथा ब्यापारीहरुले यो बिमानस्थल प्रयोग गर्ने देखिएको उहाँले जनाउनु भयो । ३ देशका नागरिकहरुलाइ लक्षित गरेर हामीले त्यहाँ गएर समेत कार्यक्रमहरुको आयोजना गरि बिमानस्थलको प्रवद्र्धन समेत गर्दै आएका छौ, चुडालले भन्नुभयो । पहाडि उडानको सम्भवाना अधिक

यहाँबाट सङ्खुवसभाको तुम्लिटार र तााप्लेजुङको पाथिभरा मन्दिरलाइ लक्षित गरेर उडानहरु गर्न सकिने जनाईएको छ । अहिले काठमण्डौ वा बिराटनगर पुगेरमात्र यहाँ जान सकिने जनाउदै यस बिषयमा समेत आफुहरुले आवश्यक प्रक्रिया शुरु गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । पहाडि जिल्लामा हाइड्रो पावरको काममा भारतीय कामदारको अधिक प्रयोग हुने भएकाले यो उडान जरुरी देखेका छौ, चुडालले भन्नुभयो ।