निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका दुई जनाको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको छ ।प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नास्टले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको हो ।

यसअघि मुख्य शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रदिप रावल र विशाल चौधरीको डीएनए परीक्षणका लागि पठाएको थियो । उनीहरुले कसुर स्वीकारेको समेत दाबी गरेको जनाइएको थियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डीएसपी एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्णराज ओझाले काठमाडौंबाट रिपोर्ट पठाइएको पुष्टि गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार प्रहरीको प्रयोगशालाले मंसिर अन्तिम साता नै प्रहरीलाई डीएनए रिपोर्ट बुझाएको भए पनि नतिजा ‘नेगेटिभ’ आएपछि प्रहरी अधिकारीहरु हच्केका थिए । त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नास्टामा पनि डीएनए परीक्षणका लागि पठाइएको थियो । तर, दुवै ल्याबमा परीक्षण गरिएको ‘वाइ एसटीआर’ प्रोफाइल नकारात्मक आएको प्रहरी अधिकारीहरुले दाबी गरेका छन् । योसँगै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा रहेका व्यक्तिहरु छुट्न सक्ने भएका छन् ।

डिल्लीराज विष्टविरुद्ध निर्मलाकी आमाले दिइन् जाहेरी

निर्मला हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी परेको छ । मंगलबार दिउँसो निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी हुन् । उनीहरुविरुद्ध परेको जोहरीमाथि छलफल भइरहेको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले जानकारी दिए। ‘ प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ । जाहेरीमाथि अनुसन्धानका गर्ने क्रममा प्रहरी अधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पक्राउ गर्न समेत सक्नेछ । टिभी अन्नपूर्ण बाट