भद्रपुर । यातायात व्यवस्था तथा ट्राफिक नियमको धज्जी उडाउँदै झापाका एक स्थानीय तहले एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ। झापाको बाह्रदशी गाउँपालिकाले सरकारी नीति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याएको सञ्चारकर्मीले स्थलगत रिपोटिङको क्रममा भेटाएपछि यस्तो खुलासा भएको हो।

कार्यालय परिसरमा रहेको दुईवटा मोटरसाइकलमा सेतो नम्बर प्लेटमा लेखिएको मे १ ब ७४९ नम्बर फेला परेको हो। दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सीसीको पल्सर रहेको छ। दुवै मोटरसाइकलमा गाउँपालिका कर्मचारी चढर्दै आएको छन्। एउटा मोटरसाइकलमा लेखा अधिकृत सेवकविक्रम राई र अर्को मोटरसाइकलमा इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रयोग गर्दै आइरहेको छन्। यता एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकलको विषयमा खोज अनुसन्धान गर्दा एउटा मोटरसाइकलको नम्बर मे १ ब ७५६ रहेको फेला पर्‍यो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०७५ साल असोज २९ गते मेची यातायात व्यवस्था कार्यालयमा दर्ता भएको एउटा मोटरसाइकलको सही नम्बर बुलुबुकबाट खुलेको हो। अर्को नम्बर कति हो भन्नेमा खुलासा भएको छैन्। त्यसको बुलुबुक गाउँपालिका कर्मचारीले देखाउन नमानेपछि एउटा मोटरसाइकल रहस्यमय बनेको छ। यता मोटरसाइकलका बारेमा बुझ्न खोज्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद नेपालले एउटै नम्बर प्लेटको मोटरसाइकल बारेमा हिजो मात्र थाहा पाएको भन्ने गैरजिम्मेवारीपूर्ण जवाफ फर्काए। अफिसकै लागि मोटरसाइकल खरिद गरेको हो, कार्यालयकै कमजोरीले यस्तो भएको हुन सक्छ, लेख्ने कुरामा कमजोरी भएको होला जस्ता गैरजिम्मेवारी पूर्वक जवाफ फर्काएर उनी पत्रकारबाट पन्छिए।

त्यस्तै गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले सामान्य कमजोरी भएको जवाफ दिए। मान्छेबाटै कमजोरी हुन्छ हैन त लेख्ने मान्छेले गलत लेखिदियो, अब के गर्नु जस्तो उनको प्रतिक्रिया थियो । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको भनाईलाई सुन्दा घटना सामान्य जस्तो लाग्छ। तर, गाउँपालिकाले एउटै नम्बरको दुईवटा मोटरसाइकल कुदाउँदै गरेको यतिका दिनसम्म थाहा हुदैन ? के कुदाउने कर्मचारीलाई पनि थाहा हुदैन ? गाउँपालिकाको यस्तो लापरवाहीले कर्मचारी मनोबल बढनुका साथै यातायात व्यवस्था र ट्राफिक नियमलाई समेत चुनौती दिएको छ। टाइम्स अफ प्रदेश बाट