विष्णुप्रसाद पोखरेल दमक । दमक ६ मा दमकको जेसिज चोकबाट मुख्य बजार जोडने थानारोडलाइ नमुना सडकको रुपमा विकास गर्न दाँयाबाँया लगाईएको गमला बाहेक फुल र त्यहाँ फुल रोप्न हालिएको गड्यौला मल चोरी हुन थालेको पाईएको छ । एक महिनाअघि देखि शुरु गरिएको अभियान सफल नहुने अवस्थामा पुगेको स्थानीय सामाजिक अगुवा नन्दी अधिकारीले बताउनु भयो । सडकको दाँयाबाँया करिब ३ सय गमला र त्यहाँ बिभिन्न प्रजातीका फलफुलका बिरुवाहरु रोपिएकोमा एक चौधाइ फुलको बिरुवा र त्यो भित्रको मल हराएको उहाँले जानकारी दिनु भएको छ ।
चोरी भएको ठाँउमा पुन अर्को ल्याएर रोप्दा समेत चोरी भएको जनाउदै आफुहरु दिक्क भएको समेत उहाँले बताउनु भयो । हामीले सडकलाइ हरियाली बनाउन खोजेको तर यसको महत्व स्थानीयले नै बुझिदिएनन्, अधिकारीले भन्नुभयो । यहाँ सानो–सानो कलिलो बिरुवामात्र पाइने भएकाले भारतबाट ठुला बिरुवा मगाएर ल्याएर रोपिएको जनाउदै अब भने बिरुवा लाउन नै रोक्नु पर्ने अवस्था आएको उहाँले जानकारी दिनु भयो । विरुवा र त्यहाँभित्रको मलको संरक्षण हुन नसकेकाले अब आफुहरुले फेरी यो काम नगर्ने अवस्थामा पुगेका छौ, अधिकारीले भन्नुभयो ।
दमक नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारीमा ५० फुटको फराकिलो सडक कालोपत्रे बनाइएपछि यसलाइ नमुना बनाउन गमलासहितको फलफुलको बिरुवा रोपण शुरु गरिएको थियो । गड्यौला मल र फुलको बिरुवा नै चोरी भएपछि मुख्य बजार छिर्ने सडकलाइ सुन्दर बनाउन गरिएको प्रयास सफल हुन नसक्ने अवस्था आएको छ, स्थानीय हरी चाँपागाइले भन्नुभयो । आफ्नो घर अगाडि भएको गमला र यसमा रहेको बिरुवा संरक्षण स्थानीयको दायित्व हुनुपर्ने हो तर दायित्वबोध गरेको पाइएन, उहाँले भन्नुभयो ।
दिनभर पसलमा ब्यवसाय गर्ने ब्यापारीहरुको रेखदेखमा हुने भएपनि रातको समयमा यसलाइ हेर्ने नभएकाले चोरी भएको हुनसक्ने जनाईएको छ । शहरी क्षेत्रमा कौशि खेती बढ्दै गएका कारण त्यहाँको गड्याला मल र बिरुवाहरु समेत चोरी भएको हुनसक्ने बताइन्छ । सडक बत्तीको पनि ब्यवस्था रहेको र १ देखि २ सय मिटरमा नै प्रहरी कार्यालय समेत रहेको अवस्थामा समेत चोरी भएको पाइएको छ । यसभन्दा अगाडि दमकको मुख्य चोकमा गमलामा लगाइएको फुल र माटो पनि चोरी भएको थियो । दमक उद्योग बाणिज्य संघले दमक महोत्सवको क्रममा दमकलाइ हरियाली बनाउन भन्दै अभियानकै रुपमा बिरुवाहरु लगाएपनि अहिले त्यहाँ लगाइएको फुल आधाभन्दा बढि हराइसकेको दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य ज्ञानु पौड्यालले बताउनु भयो । स्थानीयहरुले यसको संरक्षण गर्नु पर्नेमा त्यो नगर्दा यस्तो भएको हो, पौड्यालले भन्नुभयो ।










