परराष्ट्र मन्त्रालयले बुधबार इइन्डोनेशियाली समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको समवेदना सन्देश बारे सार्वजनिक विज्ञप्तिमा भएको त्रुटीकाे अनुसन्धान थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी पत्रमा गल्ती नभएको तर, विज्ञप्तिमा मात्रै त्रुटी भेटिएको स्पष्ट पारेको छ । विज्ञप्तिमा त्रुटी गर्ने सम्बन्धित अधिकारीलाई कारबाही गर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

राष्ट्रपति भण्डारीले इन्डोनेशियाका राष्ट्रपति जोको विदोदोलाई सुनामी पीडितप्रति सहानुभूति तथा समवेदना सन्देश पठाएकी थिइन् । उनले पठाएको पत्रमा ‘समवेदना सन्देश’ उल्लेख भए पनि त्यस सम्बन्धमा सार्वजनिक गरिएको विज्ञप्तिमा गल्तीले बधाई शब्द परेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परराष्ट्रले बुधबार विज्ञप्ति निकालेर गल्ती भएको भन्दै माफी मागिसकेको छ । मन्त्री ज्ञवालीको निजी सचिवालयले भनेको छ, 'सम्माननीय राष्टपतिज्यूबाट इन्डोनेशियाका राष्टपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा त्रुटी हुन गएको देखिन्छ । त्रुटी कसरी हुन गयो ? भन्ने बारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको छ । संलग्नलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।'

परराष्ट्र स्रोतका अनुसार मन्त्रालयको सम्बन्धित डिभिजनबाट विज्ञप्तिको मस्यौदा तयार हुन्छ । सुचना प्रविधि हेर्ने शाखाबाट सञ्चारमाध्यमलाई प्रेषित गर्ने प्रचलन छ । यो विज्ञप्ति दक्षिण पूर्वी एशिया डिभिजनबाट तयार भएको थियो ।