विष्णुप्रसाद पोखरेल दमक । झापाको हल्दीबारी गाँउपालिकाले भेलागुडि समुदायिक वन क्षेत्रभित्र ‘लोकतान्त्रिक शहीद स्मृती पार्क’ बनाउने भएको छ । हल्दीबारी गाँउपालिकाको पहिचानको रुपमा रहेको चारकोशे झाडि र सामुदायिक बनहरुलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ‘फेरी पनि घुम्न जाउँ, हल्दीबारी गाउँ’ भन्ने नारा तय भएकाले त्यसै अनुसार भेलागुडिमा लोकतान्त्रिक शहीद स्मृती पार्क बनाउन लागिएको गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले बताउनु भयो ।

हर्चना र देउनिया खोलाको सङ्गम स्थालमा रहेको भेलागुडी जङ्गल ९१ दशमलव ५६ हेक्टरमा फैलिएको जनाउदै जंगल क्षेत्र नमासि यसभित्र पार्कको बिकास गरिने लक्ष्य रहेको अध्यक्ष लिङ्देनले बताउनु भयो । यस जङ्गल क्षेत्रभित्र १९ दशमल ७ हेक्टरमा सिमसार क्षेत्र रहेकाले यसलाइ नै पर्यटकीय रुपमा बिकास गर्नका लागि बिस्तृत परियोजना विवरण समेत तयार भइरहेको उहाँले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाँउपालिका उपाध्यक्ष डम्बर गिरीका अनुुसार हल्दीबारी २ स्थित भेलागढी जङ्गल भित्र बनाईने पार्कलाई दोस्रो गाउँसभाको निर्णय अनुसार गाँउपालिकाको गौरवको आयोजनााको रुपमा स्वीकृत गरेको छ । यहाँ बिभिन्न आन्दोलनको क्रममा हल्दीबारी गाँउपालिकाभित्र ज्यान गुमाउनेहरुको सम्झनामा मुर्तिहरु समेत राखिने छ । तत्कालीन अवस्थामा सरकार र बिद«ोहिको तर्फबाट मारिएका तथा बेपत्ता भएकाहरुको पहिचान झल्काउने खालको स्मृती पार्क बन्ने पनि उहाँले बताउनु भयो ।

१ नं. प्रदेश सरकारबाट यस जङ्गलमा लोकतान्त्रिक शहीद स्मृतिपार्क निर्माणका लागि चालु आर्थिक वर्षका लागि सशर्त पुँजिगत अनुदानवापत रु १ करोड ३० लाख विनियोजन गरेको पाएको जानकारी दिदै विस्तृत परियोजना विवरण तयारका लागि गाँउपालिकाले समेत १० लाख बिनियोजन गरेको गिरीले जनाउनु भयो ।

गाँउपालिकाको प्राविधिक शाखाले पार्कको लागत अनुमान समेत निकालिसकेको उहाँले जानकारी दिनु भयो । चालु आर्थिक बर्षका लागि स्वीकृत स्थानीय दररेट बमोजिमतयार गरिएको लागत अनुमान अनुसार पार्क निर्माणमा ८ करोड ३९ लाख ३१ हजार ४ सय ५६ रुपिया २३ पैसा लाग्ने देखिएको छ, गिरीले भन्नुभयो । बहुबर्षिय योजनाको रुपमा आफुहरुले यसलाइ अघि सारेर निर्माणको काम तत्कालै शुरु गर्ने समेत उहाँले बताउनु भएको छ ।

स्वामित्व विवाद आउन सक्ने भएकाले गाँउ कार्यपालिका बैठकले पार्क निर्माणसँग सम्बन्धित सामुदायिक वनलगायत अन्य सरोकारवालासँग आवश्यक समन्वय एवम् सहजीकरण गरी गाउँपालिकाको तर्फबाट आवश्यक निर्णय लिनकालागि गाउँपालिकाका अध्यक्ष लिङ्देनको संयोजकत्वमा समिति बनेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो । यहाँ भ्यू टावर, कार्यक्रम गर्नका लागि तालिम हल, रिङरोड, नृत्य गरिरहेजस्तो देखिने पानीको फोहोरा (वाटर डान्सिङ फाउन्टेन), टिम्बर ब्रिज, बालबालिकाका लागि चिल्ड्रेन पार्क, खेलमैदान, पिकनिक स्थल लगायतका संरचनाहरु यहाँ बन्ने पनि घिमिरेले बताउनु भएको छ ।