झापा – दमकल समयमा नपुग्दा झापाको मेचीनगर ६ काँकडभिट्टामा गएराति भएको आगलागीबाट २२ घर पूर्ण रुपमा जलेर नष्टभएको छ ।
घरसहित घरभित्रका सामान सबै जलेर खरानी हुँदा पीडित परिवारको यतिबेला बिचल्ली भएको छ । राति झण्डै ८ बजे स्थानीय छबिलाल आङ्दाम्बेको घरमा बालिएको मैनबत्ति लड्दा ग्यास सिलिन्डरमा आगो सल्किएपछि सिलिन्डर पड्किएर सुरु भएको आगोले छेउछाउका २२ घर पुरै खरानी बनाउनका साथै आसपासका घरमा समेत क्षति पुग्यो ।
समयमा दमकल आइनपुग्दा बढी क्षति हुनबाट बचाउन नसकिएको स्थानीय आगलागी पीडित धनवीर तामाङले बताउनुभयो । मेचीनगर नगरपालिकाको दमकललाई जानकारी गराएको आधा घण्टापछि मात्र दमकल आगलागीस्थल पुगेको प्रति स्थानीयहरुले आक्रोश पोखेका थिए ।
यसैबीच शुक्रबार बिहानै पीडित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी झापाले राहत सामाग्री वितरण गरेको छ । सीडीओ जनकराज दाहाल र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको नेतृत्वमा गएको टोलीले प्रति परिवारलाई ९ हजार बराबरका सामाग्री वितरण गरेको छ ।
प्रतिपरिवार २ वटा त्रिपाल, २ वटा ब्लाङकेट, १८ मिटर विभिन्न खालका कपडा, एउटा साडी, एक सेट भाँडाकुँडा, बाल्टीसहित विभिन्न समाग्री वितरण गरेको जिल्ला रेडक्रस सभापति ढकालले जानकारी दिनुभयो ।
यसैबीच नेकपाका कार्यकर्ताहरुले बिहानै पीडित कहाँ पुगेर प्रति परिवार १० हजार र सोही घरहरुमा भाडामा बस्तै आएकालाई ५ हजार नगद समेत वितरण गरेका छन् । नेकपाका कार्यकर्ताहरुले पीडितहरुका लागि राहत संकलन पनि सुरु गरेको छ भने अन्य संघसंस्थाले पनि राहत संकलन शुरु गरेका छन् । उज्यालो अनलाइन बाट










