विष्णुप्रसाद पोखरेल दमक । गाँउमा स्वास्थ्य चौकी स्थापना भएको २६ बर्ष पछि पहिलो पटक एक महिलाले स्वास्थ्य चौकीमा नै बच्चा जन्माउनु भएको छ ।

झापा जिल्लाको हल्दिबारी गाँउपालिकाको जलथल स्वास्थ्य चौकीमा एक महिना अघिदेखि सञ्चालनमा ल्याइएको बर्थिङ्ग सेन्टरमा हल्दिबारी गाँउपालिका वार्ड नं. ५ की सुजता तामाङले नर्मल रुपमा बच्चा जन्माउनु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२० बर्षिया उहाँले ३ दशमलव ५ केजीको बच्चा जन्माउनु भएको हो । बेलुका ११ बजे स्वास्थ्य चौकीमा भर्ना भएकी तामाङले बिहान ६ बजे बच्चा जन्माउनु भएको थियो ।

स्वास्थ्य चौकीमा पहिलो पटक बच्चा जन्मिएपछि गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्देन सहित गाँउपालिकाको टोली कुखुराको भाले लिएर बधाइ दिन स्वास्थ्य चौकी नै पुगेको थियो ।

सुत्केरी तामाङ र बच्चाका लागि आवश्यक पोसिलो खानेकुराहरु लिएर गाँउपालिकाको टोली नै बिहानै स्वास्थ्य चौकी पुगेको बताइएको छ ।

गाँउपालिकाको अथक प्रयास पछि हामीले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका थियौ, गाँउपालिकाको इतिहासमा नै पहिलो पटक स्वास्थ्य चौकीमा बच्चा जन्माएको घटनाले हामी हर्सित भएका छौ, लिङ्देनले भन्नुभयो ।

गाँउपालिकामा नै पहिलो पटक ल्याव सहित बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जनाउदै उहाँले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि सहज सुविधा उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो ।

गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले गाँउपालिकाको स्वास्थ्य चौकीमा ल्याव र बर्थिङ सेन्टर सञ्चालन गर्न चुनौती रहेको भएपनि आफुहरुले यसलाइ महत्वका साथ स्थपना गरेको बताउनु भयो ।

स्वास्थ्य चौकीमा गर्भवती महिलाहरु बच्चा पाउनका लागि नआउने र राम्रंो अस्पताल जाने भन्दै यसको आवश्यकताको बिषयमा समेत लामो समय छलफल भएको उहाँले जनाउनु भयो ।

बर्थिङ सेन्टरका लागि गाँउपालिकाले दुइजना तालिम प्राप्त स्टाफ नर्स नियुक्त गरेको उहाँले जनाउनु भयो ।

गाँउपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेका अनुसार यसै महिनाबाट हल्दिबारी वाड नं. १ साविक गोल्धाप स्वास्थ्य चौकीमा गाँउपालिका आफैले ल्याव सञ्चालन गर्ने पनि तयारी पुरा भएको छ ।

हामी तत्काल ल्याव सञ्चालनमा ल्याउने छौ, बर्थिङ सेन्टर स्थापना गर्नका लागि पनि सोचिरहेका छौ, उहाँले भन्नुभयो ।