विष्णुप्रसाद पोखरेल दमक/झापामा कम आयश्रोत भएका ३ वटा गाँउपालिकाले महगा मेशिनरी सामाग्रिहरु खरिद गर्न तथा परिचालन गर्नका लागि र यस क्षेत्रको विकासका लागि साझा अवधारणा विकास गर्न एक हुने निर्णय गरेकाछन् ।
वी थ्री (We 3)नामक समुह गठन गरेर यसको लागि आवश्यक प्रक्रिया शुरु गर्ने बताइएको छ । ३ वटै गाँउपालिकाका अध्यक्षहरुको भेलाले यस्तो निर्णय गरेको पाइएको हो ।
हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको संयोजकत्वमा विहिबार हल्दीबारी गाउँपालिकाको सभाहलमा बाह्रदशी र कचनकवल गाउँपालिकाका अध्यक्षहरु सहितको संयुक्त बैठक बसेको थियो ।
बाह्रदशी गाउँपालिका खड्ग प्रसाद राजबंशी, कचनकवल अध्यक्ष अञ्जार आलम र हल्दीबारी गाँउपालिका अध्यक्ष लिङ्देन सहभागि भएको बैठकले सामुहिक भावाना र योजनाका साथ जाने निर्णय गरेको छ ।
बैठकको निर्णयमा भनिएको छ, -आगामी दिनमा यी तीनवटै स्थानीय तहको सर्वाङ्गीण विकास गर्ने प्रयोजनार्थ यस क्षेत्रभित्र उपलब्ध स्रोतसाधनको परिचालन र व्यवस्थापनका लागि साझा अवधारणा तय गर्न हल्दीबारी, बाह्रदशी र कचनकवल तीनवटै गाउँपालिका रहने गरी ध्भ घे टिम गठन गर्न सैद्धान्तिक सहमती कायम गर्ने निर्णय गरियो र यस टिम गठनको कार्यलाई आफ्नो/आफ्नो कार्यपालिकाबाट अनुमोदन गराए पश्चात् आगामी कार्यदिशा तय गर्ने निर्णय समेत पारित गरियो ।
यसैगरी जिल्ला समन्वय समिति झापासंग ग्रेडर सहितको औजार माग गर्ने पनि सामुहिक निर्णय भएको छ ।
साझा रुपमा प्रयोगको प्रतिबद्धतता सहित ग्रेडर र आवश्यकीय औजार माग गर्ने निर्णय भएको हल्दीबारी गाँउपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए । यस्तो छ संयुक्त निर्णय,-बाह्रदशी, कचनकवल र हल्दीबारी तीनवटै स्थानीय तह भौतिक पुर्वाधार विकासका दृष्टिले झापा जिल्लाका अन्य स्थानीय तहभन्दा पछि रहेको अवस्था सर्वविदितै छ । यी तीनै स्थानीय तहको आन्तरिक आय समेत अन्य स्थानीय तहको तुलनामा न्युन रहेको छ । यी तीनै स्थानीय तहको सम्पुर्ण भुभाग ग्रामीण क्षेत्र रहेको अवस्थामा यस क्षेत्रभित्रका सडकहरुको स्तरवृद्धि, नियमित मर्मतसम्भार लगायतका कार्य गर्न कुनै पनि स्थानीय तहको स्वामित्वमा हालसम्म पनि ग्रेडर लगायतका मेशिनरी औजारको अभाव समेत रहेको छ । कमजोर आन्तरिक आयका कारण एक्ला एक्लै स्थानीय तहले ठूलो लागतको मेशिनरी औजार खरिद गर्न सक्ने अवस्था समेत नभएको परिवेशमा दीर्घकालसम्म तीनवटै स्थानीय तहको साझा सम्पतिको रुपमा रहने गरी हाल जिल्ला समन्वय समिति, झापाको स्वामित्वमा रहेको ग्रेडर माग गर्ने निर्णय सर्वसम्मतले पारित गरियो । साथै, उक्त ग्रेडरका अलावा सडक निर्माणसँग सम्बन्धित अन्य मेशिनरी औजार÷साधनहरु आगामी दिनमा तीनवटै स्थानीय तहको संयुक्त लागत साझेदारीमा उपयोग गर्ने गरीको व्यवस्थापन सहितको संयन्त्रको खडा गर्न संयुक्त प्रविवद्धता गर्ने निर्णय समेत गरियो ।
यो निर्णय यस क्षेत्रको विकास र सम्बृद्धिका लागि सकारत्मक प्रयास भएको हल्दीबारी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । श्रोत र साधनको बाँडफाड एवं उपयोगमा अब यहाँ विवाद हुनेछैन, उनले भने ।










