विष्णुप्रसाद पोखरेल

दमक । महारानीझोडामा सामुदायीक बीउ प्रशोधन तथा भण्डारन केन्द्र स्थापना भएपछि स्थानीय किसानहरुले सहज रुपमा बीउ पाउनका साथै उत्पादीत कृषि उपजको उचित मुल्य पाउन थालेकाछन् । महिलाहरुमात्र सदस्य रहेको गौरादह ५ स्थित महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा ३ बर्षअघि देखि धान, मकै र गहुको गुणस्तरीय बीउ प्रशोधन तथा उत्पादन शुरु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बीउ उत्पादन तथा प्रशोधन केन्द्रले पछिल्लो समय जै घाँस, तोरी र राजमाको पनि बीउ उत्पादन तथा प्रशोधन शुरु गरेको पाईएको छ । सामुदायीक बीउ प्रशोधन तथा भण्डारन केन्द्रका ब्यवस्थापक हेमराज बिष्टका अनुसार स्थानीय किसानहरुको माग बमोजिम यो बर्षबाट तरकारीको रुपमा प्रयोग हुने राजमाको पनि बीउ प्रशोधन शुरु गरिएको हो ।

हिउदे धानखेतीका लागि हर्दिनाथ धानको बीउ उत्पादनमा अहिले भ्याइनभ्याइ रहेको बिष्टले बताउनु भयो । केहिदिन अघिसम्म मकैको बीउ उत्पादन गर्दै आएकोमा अहिले धानको बीउ प्रशोधनमा नै ब्यस्त रहेको पनि उहाँले जनाउनु भयो । माग धान्न नैमुश्किल परेको अवस्था छ, उहाँले भन्नुभयो ।

गौरादह ४ मा केन्द्रको आफ्नै ३ बिगाह १४ कठ्ठा जमिनमा १३ हजार टन बीउ भण्डारनका क्षमता भएको गोदाम घर सहित प्रशोधनका लागि आवश्यक आधसनिक उपकरणहरु रहेकाछन् । २०७२ साल माघ १४ गतेदेखि सञ्चालनमा आएको केन्द्रबाट झापा, मोरङ, सुनसरी, इलाम लगायत १ नम्बर प्रदेशका सबै जिल्ला र २ नम्बर प्रदेशका सप्तरी तथा सिरहामा समेत यहाँबाट बीउ जाने गरेको ब्यवस्थापक बिष्ठको भनाइ रहेको छ ।

गतबर्ष २०७४÷०७५ मा १३ जातका ३ सय ९० टन धानको बीउ प्रशोधन भएकोमा चालु आर्थिक बर्षमा यो बढाएर कम्तिमा पनि ६ सय टन पुर्याउने लक्ष्य रहेको केन्दले जनाएको छ । यसैगरी गतबर्ष ५२ टन ४ जातको गहुको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो बर्ष १ सय १० टन पुर्याउने लक्ष्य लिइएको महारानीझोडा साना किसान सहकारी संस्थाका ब्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो ।

गत बर्ष १७ टन जयघाँसको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो बर्ष २१ टन, मकैको बीउ गतबर्ष ३ टन उत्पादन गरेकोमा यो बर्ष १० टन, गतबर्ष १ टन तोरीको बीउ उत्पादन गरेकोमा यो बर्ष २ टन र यो बर्ष २ टन राजमाको बीउ उत्पादन तयारी रहेको पनि भण्डारीले जानकारी दिनु भयो ।

सहकारी संस्था आफैले चक्लाबन्दि गरेर एक ठाँउमा ८० बिगाह र अर्को ठाँउमा २० बिगाह गरेर १ सय बिगाहमा सामुहिक खेती गर्दै आएको छ । कतिपय बीउहरुको यहाँ परीक्षण गरेरमात्र किसानहरुलाइ उपलब्ध गराइने गरेको पनि बताईएको छ । सामुहिक सहकारी खेती तथा सदस्य कृषकहरुले उत्पादन गरेको बीउलाइ नै प्रशोधन गरिने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताउनु भयो ।

सामुदायीक बीउ प्रशोधन तथा भण्डारन केन्द्र स्थापना एकातिर सदस्यहरुले हिजोका दिनमा खाने अन्न उत्पादन गरि विक्री गर्दाभन्दा बिऊ उत्पादन गर्दा बढि मुल्य पाउने गरेकाछन् भने १ नम्बर प्रदेशलाइ बिऊमा आत्म निर्भर बनाउन सहयोग पुगेको छ, ढकालले भन्नुभयो ।

कृषकहरुले बजारमूल्य भन्दा कम्तिमा १ सय ५० रुपियादेखि ६ सय रुपियासम्म बढि मूल्य दिएर उहाँहरुले उत्पादन गरेको धान, मकै, गहु, जै घाँस किनिदिने गरेकाले किसानहरु खेतीमा आकर्षित भएको ढकालले बताउनु भयो । गुणस्तरीय बिऊको प्रयोगले बालीको उत्पादनमा समेत वृद्धि भएको पाएका छौ, ढकालले भन्नुभयो । ४० प्रतिशत बीउ संस्थागत रुपमा र ६० प्रतिशत बीउ सोझै किसानबाट किनीने गरेको पनि जनाईएको छ ।