विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा रहेको सरकारी दमक अस्पतालमा भर्ना भएका बिरामीहरुले निशुल्क खाना पाउने भएकाछन् । यसका लागि नगरपालिकाले आवश्यक प्रंक्रिया समेत शुरु गरेको पाइएको छ ।
अस्पतालमा भर्ना हुने बिरामीहरुका लागि आउदो माघ १ गतेदेखि लागु हुने गरी राशन उपलब्ध गराउनका लागि इच्छुकहरुलाइ नगरपालिकाले टेण्डर आह्वान गरेको पाईएको हो ।
माघ १ गतेदेखि लागु हुने गरी पुस मसान्तसम्म राशन उपलब्ध हुनेछ ।
दमक नगरपालिका अन्तर्गत रहेको दमक अस्पतालमा उपचारार्थ भर्ना हुने बिरामीहरुको लागि २०७५ माघ १ गते देखि २०७६ पौष मसान्तसम्म एक बर्षको निम्ति राशन (सिदा) ठेक्कबाट बन्दोबस्त गर्ने निर्णय भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए ।
यसभन्दा अघि नै नगरपालिकाले जेष्ठ नागरिकहरुलाइ निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने घोषणा समेत गरिसकेको छ ।
जिल्ला अस्पतालको रुपमा स्वीकृत पाएको दमक नगरपालिमा दमक नगरपालिका उपप्रमुख गीता अधिकरी ब्यवस्थापन समितिको अध्यक्ष भए पश्चात केहि सुधारका प्रयासहरु भइरहेको जनाइन्छ ।
पछिल्लो समयमा स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन र चौबीसै घण्टा सेवा उपलब्ध गराउन नगरपालिकाले पहल गरेपछि बिरामीको समेत चाप बढेको छ । दमकका पुराना डाक्टर डा.सुर्यनारायण शाहले समेत यहाँ सेवा दिन शुरु गरेकाछन् ।











