दमक ट्राफिकको अनुकरणिय काम, चालकको आँखा जाँच अभियान दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी चालकहरुको आँखा जाँच अभियान शुरु गरेको छ ।
आइतवारदेखि दमकको बसपार्कमा बिशेषज्ञ डाक्टर सहित आँखा जाँच अभियान चलाएको हो ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालका अनुसार आइतवार ८० भन्दा बढि सवारी चालकको आँखा परीक्षण र आवश्यक परामर्श प्रदान गरिएको छ ।
सवारी चालकहरुले उत्साहित भएर आँखा परीक्षण गरेको पनि उनले बताए ।
दुर्घटना बढ्दै गएपछि दुर्घटना न्यूनिकरणका लागि सवारी चालकको आँखा पनि जाँच गर्ने अभियान शुरु गरिएको हो, दाहालले भने ।
आफुले अगाडि आएको सवारी साधन तथा यात्रु नदेख्दा दुर्घटना भएको कतिपय चालकले बताएपछि आँखा जाँच गरिएको हो, दाहालले जनाए ।
नियमित आँखा जाँच गर्न र समस्या भएको भए समस्या ठिक भएपछि मात्र सवारी चलाउन चालकहरुलाइ अनुरोध गरिएको पनि दाहालको भनाइ छ ।आँखा शिविरमा दमकको रवि पञ्चमी चस्मा घर तथा आँखा उपचार केन्द्रको प्राविधिक सहयोग रहेको बताइएको छ ।











