१ नम्बर प्रदेशमा ८ हजार प्रदेश प्रहरी भर्नाको तयारी

विष्णुप्रसाद पोखरेल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अबको २ देखि ३ महिनाभित्र प्रदेश प्रहरी गठन गर्ने काम शुरु गर्ने र प्रहरीलाइ श्रोतसाधनले कमी हुन नदिने बताउनु भएको छ । विपद ब्यवस्थापन र प्रदेश शान्ति सुरक्षाका लागि आवश्यक तयारीहरु तिव्र रुपमा भइरहेको जनाउदै उहाँले यस्तो बताउनु भएको हो ।

झापाको गौरादहमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री कार्कीले संघीय प्रहरी ऐन पास भएलगत्तै प्रदेशमा प्रदेश प्रहरी गठनको काम शुरु हुने भन्दै उक्त ऐन संबिधानमा बाँझिने गरी आउनु नहुने जनाउनु भयो । प्रदेशको शान्तिसुरक्षा र प्रदेशमा प्रहरी परिचालनको जिम्मेवारी प्रदेश सरकारमा हुनुपर्छ, यसमा अंकुश लगाउने कुरा ऐनमा हुनु हुदैन, उहाँले भन्नुभयो ।

अन्तराष्ट्रिय सिमा सुरक्षा, सेना र शसस्त्र प्रहरी परिचालन आफुहरुमा अधिकार नभएको स्पष्ट पार्दै त्यो बाहेक शान्ति सुरक्षा कायम गराउन प्रहरी परिचालन सहितको अन्य प्रहरी परिचालनको अधिकार प्रदेश सरकारमा रहने उहाँले दाबी गर्नु भयो । संबिधानले दिएको अधिकारभित्र रहेर शान्ति सुरक्षा कायम गराउनका लागि हामी प्रदेशमा प्रहरी ऐन, अनुसन्धान ऐन बनाएर अघि बढ्छौ, उहाँले भन्नुभयो ।

संघीय प्रहरी ऐनमा प्रदेश सरकारका अधिकार मिचिएको भन्ने बिषयहरु बाहिर आएको भन्दै कार्कीले त्यस्तो भएको भए त्यो सच्याउन माग गर्ने र अहिले नै त्यो सच्याउनु पर्ने उहाँले जनाउनु भयो । वाहिर सञ्चारमाध्यममा आएजस्तो प्रदेश सरकारको अधिकार कटौती भएको भए त्यो संविधान बिपरीत हुनेछ, काकीले भन्नुभयो । संविधानले हामीले प्रहरी भर्ना गर्नेदेखि लिएर परिचालनसम्मको अधिकार दिएकाले यसलाइ शंकुचित गरेर ऐन आएमा त्यसमा हाम्रो बिमति रहनेछ, उहाँले भन्नुभयो ।

१ नम्बर प्रदेशमा संघीय सरकार मातहतमा करिब ११ हजार जनपथ प्रहरी रहेको र थप ७ देखि ८ हजार नपुग्ने भएकाले त्यो भर्नाको तयारी गर्ने पनि अघि बढिरहेको कार्कीले जनाउनु भएको छ । ३ महिनाभित्रमा प्रदेश प्रहरीलाइ कानूनी र ब्यवहारिक हिसावमा परिचालन शुरु गर्छौ, कार्कीले भन्नुभयो । प्रदेशको शान्ति सुरक्षालाइ ध्यानमा दिदै केहि कामहरु भने शुरु भइसकेको पनि उहाँले बताउनु भयो ।

प्रहरी कार्यालयहरुलाइ लक्षित गरेर सवारी साधन किन्ने प्रक्रिया शुरु भइसकेको कार्कीले जानकारी दिनु भयो । चारचक्के १५ वटा सवारी साधन, २ सय वटा मोटरसाइकल किन्ने प्रक्रिया शुरु भएको उहाँले जनाउनु भयो । मोटरसाइकल नै नभएको प्रहरी चौकीहरु समेत रहेकाले त्यस्ता चौकीहरुमा हामी कम्तिमा पनि यो आर्थिक बर्षमा मोटरसाइकल पुर्याउछौ, कार्कीले भन्नुभयो । जिल्लामा प्रहरी भेन उपलब्ध गराउने तयारी भएको मन्त्री कार्कीको भनाइ छ ।

२७ करोड भवनका लागि

यसैगरी मन्त्री कार्कीले यो चालु बर्षका लागि आफुहरुले प्रहरीको भवन निर्माणका लागि पनि आवश्यक बजेट बिनियोजन गरेको र अब काम शुरु हुने बताउनु भयो । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकीहरु निर्माणका लागि तत्कालै अख्तियारी दिएर बजेट पठाउने समेत कार्कीले जानकारी दिनु भयो ।

यो बर्ष काम थाल्नका लागि मात्र बजेट उपलब्ध भएपनि आउदो बर्ष यसका लागि पर्याप्त बजेट उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँले जनाउनु भयो । यी बहुबर्षीय योजना हुन् र श्रोत शुनिश्चितता गरिएकाले निर्धारीत समयमा काम पुरा गर्न समस्या हुँदैन, कार्कीले भन्नुभयो । ४९ वटा प्रहरी कार्यालय भवनको निर्माणको काम यसै बर्ष शुरु हुने उहाँको भनाइ थियो ।