दमक, माघ ३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले डा. गोविन्द केसीलाई विधेयक अध्ययन गरेर अनशन तोड्न सुझाव दिनुभएको छ । उहाले केसीका अधिकाशं माग विधेयकले पुरा गरेकाले अनसन तोड्न आग्रह गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको बिर्तामोडमा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाले विधेयकबाट डा. केसीका अधिकांश माग पूरा भएको दाबी गर्दै अध्ययन नगरी अनशन बस्नुको कुनै तुक नभएको स्पष्ट पार्नुभयो। ‘विधेयक संसद्मा पस्तुत गरिरहँदा केसी इलाम आए छन्’, भट्टराईले भन्नुभयो, ‘अध्ययन गर्न पनि पाएनन् कि क्या हो, म एक पटक राम्ररी अध्ययन गर्न केसीलाई सुझाव दिन्छु ।’

भट्टराईले आफू बुधवार इलाम पुगेर त्यहाँको इन्टरनेट स्लो भएको थाहा पाएको बताउँदै व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, इलाममा इन्टरनेट स्लो रहेछ, संसद्मा प्रस्तुत विधेयकमा के लेखेको छ, केलाएर पढ्न केसीले नसकेका पनि हुन सक्छन् ।’ उहाले केसीको सबै माग पुरा भइसकेको अवस्थामा सरकारले पुन उहासँग वार्ता गर्नुको कुनै कारण नै नभएको बताउनु भयो । ‘अब माग के हो भनेर वार्ता गर्नुपर्छ भन्ने पनि छैन, तर केसीको ज्यान भने सरकारले जसरी पनि जोगाउँछ ।’

केसीको पछाडि मात्र लाग्ने हो भने कुनै पनि ठाउामा अझै १० वर्ष अस्पताल खोल्न नसकिने भएकाले समितिले स्वविवेक प्रयोग गरेर उहाका मागमा अझ केही थपेर विधेयक संसदमा पेस गरेको भट्टराईको भनाइ छ । ‘केसीले टेक्दैमा कुनै पनि ठाउामा सुन फल्दैन, उनी त्यति पबित्र पनि छैनन्, सुन फलाउन मेहनत गर्नु पर्छ,’ उहाले भन्नुभो ।

नेता भट्टराईले नेकपा या कांग्रेसको नेता भएको भरमा अब मेडिकल कलेज चलाउने सपना कसैलाई नदेख्न चेतावनी दिदै भन्नुभयो, ‘विधयेक पास भए पछि अबको ५ वर्ष भित्रमा सबै प्रदेशमा सरकारी मेडिकल कलेज अनिवार्य खुल्ने छ ।’अहिले संसद्मा सबैभन्दा बढी चर्चा केसी र उहाको अनसनको उठ्ने गरेको बताउँदै उहाले केसीलाई अनावश्यकरुपमा अराजक समूहले उचालेको आरोप समेत लगाउनु भयो । ‘म सुरुकै अनसनदेखि उनको विपक्षमा थिएँ, केही माग सही भए पनि, उनको सबै माग र बिचार अनि प्रयोग हुने बानी ठिक छैन’, उनले भने, ‘मेरो उनीसँग पटक पटक अनशनस्थलमै विवादसमेत भएको छ ।’

विभिन्न देशमा भएका गतिविधिको उदाहरण दिँदै भट्टराईले सरकारले गरेका कतिपय निर्णय संसद्ले उल्ट्याउन सक्ने बताउनुभयो । तर, उहाले चिकित्सा शिक्षा विधेयक सांसदबाट पारित हुने जानकारी दिँदै केसीको माग, केसीको माग भन्ने जमाना अब अन्त्य भएको दाबी गर्नुभयो ।