मुलुकमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सबै स्थानीय तहमा संयोजक भर्ना प्रक्रिया सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेको छ ।
सोही मापदण्डबमोजिम एक वर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरी शुक्रबारदेखि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएको हो ।
मन्त्रालयले १० हजार भन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह)को र १० हजार भन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी सिर्जना गरेको छ ।
कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण आधार रोजगार व्यवस्थापन सूचना प्रणाली (एमआइएस) सञ्चालन गर्न सक्ने क्षमता र सीप भएको व्यक्ति रोजगार संयोजकका लागि योग्य हुनेछन् । रोजगार संयोजकको न्यूनतम् योग्यता लोकसेवा आयोगले तोकेको निजामती कर्मचारी सरहको हुनुपर्नेछ ।
राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृतसरह)को रोजगार संयोजकका लागि स्नातक वा सो सरह र राजपत्रअनङ्कीत प्रथम श्रेणी (नासु) को प्रवीणता प्रमाणपत्र वा सो सरह तोकिएको छ । रोजगार संयोजकका उम्मेद्वारले अनलाइनमार्फत नै आवेदन दिन सक्ने छन्।
कार्यक्रमको आधिकारिक वेभसाइट डब्लुडब्लुडब्लु डट पिएमपिइ डट जिओभी डट एनपी मार्फत आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
शुक्रबारदेखि १५ दिनभित्र रोजगार संयोजकका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ ।
डेढ महिनाभित्र सम्पूर्ण प्रक्रिया शुरु गरेर आगामी चैत १ गतेबाट कार्यारम्भ गर्ने तथा राजपत्राङ्कीत तृतीय श्रेणी (अधिकृत) को रोजगार संयोजकको पदपूर्ति गर्ने तयारी मन्त्रालयको छ ।
अन्तिम सूची प्रकाशित भएको एक साताभित्र प्रत्येक स्थानीय तहमा रोजगार संयोजक खटिइने मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति ?
प्रदेश १ मा १३० जना अधिकृत र सात जना सुब्बा, प्रदेश २ मा १३६ अधिकृत, प्रदेश ३ मा ११२ जना अधिकृत र ७ जना नायब सुब्बा, गण्डकी प्रदेशमा ७४ जना अधिकृत र ११ जना नायब सुब्बा, प्रदेश ५ मा १०९ जना अधिकृत, कर्णाली प्रदेशमा ६२ जना अधिकृत र १७ जना नायव सुब्बा, सुदूरपश्चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायव सुब्बा










